प्राधिकरणको काम पोल गाड्ने र तार तान्ने मात्रै हो र ?

प्राधिकरणको काम पोल गाड्ने र तार तान्ने मात्रै हो र ?

रुकुम पूर्वमा अनियमित हुने गरेको विद्युत सेवाले जनतालाई हैरान बनाएको छ । विद्युत सेवामा हुने अनियमितताको कारण यहाँका जनता मर्कामा परेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको रुकुमकोटमा पानी पर्दा र हावा चल्नेबित्तिक्कै विद्युत अवरुद्ध हुने गरेको छ ।

अत्यावश्यक मानिएको विद्युत सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारण त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय केशव थापाले हावा चल्दा र पानी पर्दा रुकुममा विद्युत प्रवाह हुने समस्या लामो समयदेखिको भएता पनि हालसम्म सुधार नभएको बताएका छन् ।थापाले विद्युत प्राधिकरणको काम पोल गाड्ने र तार तान्ने मात्रै भएको भन्दै सर्वसाधारणले गुनासो गरेको बताए ।‘विगतमा स्थानीय प्रशारण लाइन हुँदा यसरी समस्या आउँदैनथ्यो’ थापाले जानकारी दिँदै भने, ‘स्थानीय लाइन काटेर जबर्जस्ती केन्द्रीय लाइनमा जोडेपछि विद्युतमा समस्या आएको हो ।’ स्थानीय लाइन हुँदा कम भोल्टेजको समस्या रहेको थियो ।

जिल्ला समन्वय समिति रुकुम पूर्वमा कार्यरत शाखा अधिकृत विमला रोक्काले विद्युत अनियमित हुँदा नियमित कामकाजका साथै आवश्यक समन्वय,पत्राचार तथा प्रतिवेदनको काम गर्न निकै समस्या भएको बताइन् ।

कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था नहुँदा विद्युत लाइन कुर्नैपर्ने अवस्था रहेको उनले उल्लेख गरिन् । विद्युत लाइन आउला र काम गरौंला भनेर काम गर्दा खोज्दा कामै नहुने भएकाले त्यस्तो बेला अफलाइन गर्न मिल्ने काम गरेर विद्युत आपूर्ति हुनेबित्तिकै अनलाइनका काम गर्ने गरेको शाखा अधिकृत रोक्काले बताइन् ।

प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जिल्ला सदरमुकाममै समेत विद्युत आपूर्ति अनियमित हुनाले सरकारी कामकाजका साथै अन्य काममा प्रत्यक्ष प्रभाव परेको बताए । राईले विद्युत कार्यालयले पनि सेवा सुधारको लागि पहलकदमी लिइरहेकाले अहिले आपूर्ति र सेवा प्रवाह सन्तोषजनक भएको जनाए ।

विद्युत अनियमितताको विषयमा नेपाल विद्युत प्राधिकरण,रुकुम पूर्व वितरण केन्द्रका प्रमुख युवराज रावतले जिल्लामा सबस्टेशन नभएकोले बेलाबेलामा विद्युत जाने समस्या भएको बताए ।

‘वर्षायाममा अलिअलि समस्या बढ्ने देखिन्छ,पानी पर्यो भने पहिरो जाने,पोल ढल्ने,रुख बिरुवाले विद्युतका तारमा असर गर्ने भएकोले समस्या हुने गरेको छ’ प्रमुख रावतले भने, ‘सल्यानको श्रीनगरमा रहेको सबस्टेशनबाट रुकुम पश्चिम हुँदै आउने विद्युत लाइनमा समस्या आएकोे तर सेवा सुचारु गर्न कार्यालयले तत्काल पहल गर्ने गरेको छ ।’

समस्या समाधानको लागि रुकुम पूर्वको रुकुमकोट र काँक्रीमा दुई वटा सबस्टेशन बनाउन पहल भरहेको र त्यसको लागि कार्यालयले समन्वय गरिरहेको उनले जनाए । काँक्रीमा सबस्टेशनको लागि जग्गा लिने काम भइसकेको र रुकुमकोटमा दुई चरणमा आएर जग्गाको लागि छलफल गरिएको छ ।

त्यसको लागि भने छुट्टै अरु कम्पनीले जिम्मा लिने भएकोले आफूले सहकार्य गरिदिएको समेत उनले बताए ।

टिप्पणीहरू