स्वेच्छाचारिता रोक्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र

स्वेच्छाचारिता रोक्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र

‘हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!’ भन्ने अभियानले आज नुवाकोटको बेलकोटगढी नगरपालिकामा नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा, दामोदर नेपाल, विकाश भण्डारी, ध्रुव पुडासैनी, प्रह्लाद भट्ट र दिनेश घिमिरेले ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिमा हावी भएको स्वेच्छाचारी प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरेका हुन् । नगरप्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुंगाना र कार्यकारी अधिकृत दीपक खतिवडालाई ज्ञापनपत्र बुझाउँदै अभियानले नगरसभाको पूर्वसन्ध्यामा २४ बुँदे सुझाव पेस गरेको हो ।

‘स्वायत्तता र विकेन्द्रीकरणभन्दा स्वेच्छाचारिता हावी भएकोले नगरले विकास र प्रगतिमा गति लिन सकेको छैन । यस्तो प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।’ ज्ञापनपत्रमा भनिएको छ । अभियानले टुक्रे योजना तथा व्यक्तिको नाममा जारी गरिएका योजना कम्तिमा सामुदायिक हितको योजनामा लगानी गर्न, राष्ट्रिय गौरवको आयोजना तथा विभिन्न ठुला योजनाको नाममा आएको बजेट प्राकृतिक दोहन, सार्वजनिक सम्पत्ति दोहन र व्यवसायिक स्वार्थमा दुरुपयोग रोक्न र प्राकृतिक सम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणाका आधारमा पूर्वाधार निर्माण गर्न सुझाव दिएको छ ।

सामाजिक सुरक्षाभत्ता वितरणको लागि गाउँटोलमा घुम्ति बैंकिङ सेवा सञ्चालन गर्नसमेत अभियानले माग गरेको छ । अभियानले सरोकारवाला भेला नहुने तर कोठे भेलाले उपभोक्ता समिति गठन गर्ने प्रथा बन्द गर्न, रैथाने प्रजातीका पशु तथा विउविजन संरक्षण गरी बजार व्यवस्थापन र गाउँटोलमा कृषिउपज संकलन केन्द्र स्थापना गर्न माग गरेको छ ।

 

ज्ञापनपत्रको पूर्णपाठः

हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !!

मितिः २०७८/०३/१३

श्री प्रमुखज्यू,
बेलकोटगढी नगरपालिकाको कार्यालय
बाघखोर, नुवाकोट

विषयः ज्ञापनपत्र

हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !! भन्ने नाराका साथ सामाजिक सञ्जालमा हामीले जनस्तरबाट नागरिक दबाब अभियान सञ्चालन गरेका छौँ । नगरपालिका स्थापना सँगसँगै जनप्रतिनिधिको चयनपश्चात्का गतिविधि एकाध आर्थिक वर्षमा सकिँदा विकास र सम्वृद्धिको नारामा हामी कुन अवस्थामा छौँ र हामीले उपलब्ध साधनस्रोत र जिम्मेवारीता र जवाफदेहिता के कस्तो ढंगले पुरा गरेका छौँ भन्ने सवालमा सञ्चारमाध्यम र आम नागरिकसामु व्यापक बहस चलेको पाइन्छ । तसर्थ स्थानीय सरकार र यसका नेतृत्वले सुधार गर्न सक्ने सवालहरुलाई सुझावको रुपमा नगरसभाको पूर्वाधमा यो ज्ञापनपत्र पेस गरेका छौँ ।

१. स्वायत्तता र विकेन्द्रीकरणभन्दा स्वेच्छाचारिता हावी भएकोले नगरले विकास र प्रगतिमा गति लिन सकेको छैन । यस्तो प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।

२. नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य जरुरी छ ।

३. टुक्रे योजना तथा व्यक्तिको नाममा जारी गरिएका योजना कम्तिमा सामुदायिक हितको योजनामा लगानी होस् ।

४. राष्ट्रिय गौरवको आयोजना तथा विभिन्न ठुला योजनाको नाममा आएको बजेट प्राकृतिक दोहन, सार्वजनिक सम्पत्ति दोहन र व्यवसायिक स्वार्थमा दुरुपयोग रोकियोस् ।

५. साझेदारीमा आधारित योजनामा जोड दिँदै भेगीय सन्तुलन रहने गरी प्राविधिक शिक्षालय सञ्चालन गरियोस् ।

६. मातृभाषा शिक्षा कार्यक्रम, व्यवसायिक शिक्षाको स्थानीय पाठ्यक्रम निमार्ण गरियोस् ।

७. इतिहास, मौलिकता, कला, संस्कृति, ललितकला, वास्तुकलाको संरक्षणमा ठोस पहल गरियोस् ।

८. चुस्त, जनमुखी प्रशासन सञ्चालन, प्रविधिमैत्री संयन्त्र र कर्मचारी, जनप्रतिनिधिमा जवाफदेहिता कायम होस् ।

९. भौगोलिक विविधताको आधारमा विकास निर्माणको आयोजना छनौट गर्दा सन्तुलन कायम गरियोस् ।

१०. प्राकृतिक सम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणाका आधारमा पूर्वाधार निर्माण गरियोस् ।

११. वृद्धभत्ता, एकल महिला, अपांग लगायतका सामाजिक सुरक्षाभत्ता वितरणको लागि गाउँटोलमा घुम्ति बैंकिङ सेवा सञ्चालन गरियोस् ।

१२. नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरुको निश्चित प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था गरियोस् ।

१३. सरोकारवाला भेला नहुने तर कोठे भेलाले उपभोक्ता समिति गठन गर्ने प्रथा बन्द गरी प्रभावकारी अनुगमन थालनी होस् ।

१४. रैथाने प्रजाती पशु तथा विउविजन संरक्षण, किसानमैत्री योजना, बजार व्यवस्थापनको पहल, कृषिउपज संकलन केन्द्र स्थापना हरेक वडा र गाउँटोलमा सुरु होस् ।

१५. व्यापक रुपमा समस्यामा रहेको कुखुरा व्यवसायलाई प्रोत्साहन गर्ने पोल्ट्रीफर्म दर्ता गर्न नीतिगत सहजीकरण गर्दै किसान र नगरपालिकाको साझेदारीमा कोल्डस्टोर र बधशाला निर्माणको पहल होस् ।

१६. स्वरोजगार विकास गर्न उद्यमशीलता विकास, घरेलु तथा कुटिर उद्योगको विकास विस्तारमा पहल होस् ।

१७. सहकारी समूह तथा व्यवसायिक सहजताका लागि सार्वजनिक जग्गा लिजमा दिइयोस् ।

१८. प्लाष्टिकजन्य फोहोर र किटनाशक विषादी प्रयोगमा निरुत्साहन गरियोस् ।

१९. स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, पर्यटन विकास पूर्वाधार निर्माण गर्ने, चिम्टेश्वर देविघाट केवुलकार निर्माण गर्ने साझेदारीमा इच्छुक कम्पनीलाई आह्वान गर्न पहल होस् ।

२०. पूविय सभ्यता, बौद्ध दर्शन, योग विज्ञान अध्ययन, अनुसन्धान केन्द्र स्थापनाको पहल गर्दै संस्कृति अतिक्रमण रोक्दै सामाजिक सुधारको थालनी होस् ।

२१. हरेक वडामा नागरिक सुनुवाई तथा जनप्रतिनिधिहरुले विकास योजनाको पब्लिक अडिट गर्ने कार्य सुरु होस् ।

२२. स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्दै निःशुल्क स्वास्थ्य शिविर हरेक वडामा सञ्चालन गरियोस् ।

२३. विद्यालयहरुमा भएका बेथितिहरुको छानबिन गर्दै विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयको स्तरउन्नती गर्न ठोस पहल होस् ।

२४. कि कर नलेऊ, असुलेपछि प्रभावकारी सुविधा देऊ ।

अभियानको तर्फबाट

१. नारायण नेपाल – बे.न.पा ६
२. दामोदर नेपाल – बे.न.पा ७
३. दीपक लामा – बे.न.पा ७
४. विकाश भण्डारी – बे.न.पा ३
५. ध्रुव पुडासैनी – बे.न.पा ८
६. प्रह्लाद भट्ट – बे.न.पा ९
७. दिनेश घिमिरे – बे.न.पा ६

 

टिप्पणीहरू