आज भएका विभिन्न दुर्घटनामा ५ जनाको ज्यान गयो

आज भएका विभिन्न दुर्घटनामा ५ जनाको ज्यान गयो

आज देशका विभिन्न स्थानमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । काठमाडौँ, स्याङजा, मोरङ र सप्तरीमा आज भएका सवारी दुर्घटना, चट्याङ र करेन्ट लागेर उनीहरुले ज्यान गुमाएका हुन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय साइकलयात्रीको निधन भएको हो । निधन हुने स्थानीय सिमलटार डेरा गरी बस्ने संखुवासभाको भोटखोला गाउँपालिका–२ का २६ वर्षीय खुर्बु छिरिङ भोटे हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

त्यस्तै, स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–२ घडेरीका पूर्णबहादुर गुरुङको १५ वर्षीय छोरा रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको हो । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङबाट उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उता, मोरङमा ग्रिन्डर मेशिनमा परी एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१० अमर टोलस्थित शान्ति ग्रिल उघोगमा काम गर्ने स्थानीय ३२ वर्षीय विपीन विश्वकर्माको ग्रिण्डर मेशिनमा परेर शुक्रबार बिहान मृत्यु भएको हो ।

काम गर्ने क्रममा अचानक लडेर उक्त मेशिनले काट्दा गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै करेन्ट लाग्दा सप्तरीमा दुई जनाले ज्यान गुमाएका छन् । शम्भुनाथ नगरपालिका–१२ जितपुरका ३४ वर्षीय लालबाबु मण्डल तथा डाक्नेश्वरी नगरपालिका–१० बनौला बस्ने ८५ वर्षीय जगाई साह तेलीको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो । मृतक दुबैको घरमा पानी तान्ने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको हो ।

टिप्पणीहरू