गगनका सुराकीले गोद्लान् नि !

कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगन थापाले ।
स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन् । कुन हाकिमले के गरे भनेर बुझ्न ।
कर्मचारीले ठीकसँग काम गरे, नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्यअन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिर्जना भएको छ । जहाँ–जहाँ एमालेसम्बद्ध हाकिम छन्, त्यहाँ–त्यहाँ पुग्छन् गगनका सुराकी । तिनले हाकिमका व्यक्तिगत सूचनादेखि आवत–जावत हुने मानिसको नामसमेत बुझ्ने गरेको विभागीय प्रमुखहरुले स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रतीलाई भनेका छन् । डा.उप्रेतीसँगै सचिव बढुवाका प्रतिस्पर्धी सहसचिव पदमबहादुर चन्दलाई गगनले मन्त्रालयमा प्राविधिक सल्लाहकारसमेतको जिम्मेवारी सम्हाल्ने गरी राखेका छन् । दर्जाका हिसाबले सचिवसमानको भूमिका दिएका छन् । फेरि मन्त्रीले सचिवसँग भन्दा पदमसँग बढी सल्लाह लिने गर्दा समस्या भएको बताइन्छ । पदम पुसबाट रिटायर्ड हुँदैछन् । स्वास्थ्य सेवा विभागमा ११ तहकी महानिर्देशक पुष्पा चौधरीलाई सरुवा गरेर एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका राजेन्द्र पन्तलाई लैजाने तयारी छ । एमालेसमर्थित महेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय नीति, योजना महाशाखामा थिए । भर्खरै त्यहाँबाट काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय पठाइएका छन् । पूर्वसचिव मोदराज डोटेलका भाइ भोगेन्द्रलाई कांग्रेसनिकट भएकै नाममा अन्तर्राष्ट्रिय नीति, योजना महाशाखामा लैजाने तयारी छ । त्यसो त त्यही पदका लागि डा.विकास लामिछाने, डा.नरेशप्रताप केसीहरु पनि दौडधुपमा छन् । विकासले त्यो पद नपाउँदा आपूर्ति व्यवस्था महाशाखाको निर्देशक मागेका छन् । मोहम्मद दाउद पुनर्जागरण महाशाखाका प्रमुख हुन् । अहिले आकर्षक विभाग ताकेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले तोकेको समयसीमा अनुसार, अरु मन्त्रालयमा असोज १५, तर स्वास्थ्यको हकमा भने २२ गतेसम्म सरुवाको अन्तिम मिति हो । कांग्रेसको स्वास्थ्यकर्मी संघले कसलाई कहाँ पठाउने सूची तयार पारेको छ । त्यहाँ गगनले सिन्धुपाल्चोकका आयुर्वेद हाकिम शंकर गौतमलाई खटाएका छन् ।
उता, राष्ट्रिय गौरवका आयोजना द्रूतगतिमा अघि बनाउनुपर्छ भनेर प्रधानमन्त्री गाडीमा दौडने, तर मन्त्रालयहरु अझै ‘सेटिङ’ को मानसिकताबाट मुक्त भएनन् ।
सिञ्चाइमन्त्री दीपक गिरीले ‘मिलाएर काम गर्नुपर्छ’ भन्दै सरुवाको सबै अधिकार सचिव गजेन्द्र ठाकुरलाई दिएका छन् । भनिन्छ, मन्त्रीले तीन करोडभन्दा बढी लगिसकेका छन् । उदाहरणका लागि– उपसचिव रमेश बस्नेत पहिला रानीजमरा परियोजना प्रमुख थिए । सहसचिवको दरबन्दी रहेको त्यहाँ उनी आर्थिक चलखेलकै कारण पठाइएका हुन् । तर, काम गर्न नसकेको भन्दै मन्त्रालयले तान्यो । अहिले फेरि सिक्टा जलविद्युत परियोजनामा पठाइएका छन् । त्यहाँ पनि सहसचिवको दरबन्दी हो । तर, गजेन्द्रलाई टेर्ने सहसचिव नभेटिँदा उपसचिवबाट काम चलाइएको बताइन्छ ।

टिप्पणीहरू