जंगल फडानी गरेर कागती खेती

जंगल फडानी गरेर कागती खेती

बाँकेको सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा कागती लगाएको छ । कोहलपुर नगरपालिका-१२ रोहिणी खोलास्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको बिरुवा रोपेको हो ।

सामुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर पनि निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाइने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठूला रुख हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताए ।

गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनको सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपाई गरेको समितिका सदस्य महेन्द्र प्रसाद पौडेल बताउछन् ।

कोहलपुर नगरपालिकाले हालसम्म ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्षदेखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ । नगरपालिकाले किसानहरुलाई कृषि र बैकपिक आयबारे नि:शुल्क परामर्श दिइरहेको छ । नगरपालिकाले नगरबासीहरुलाई फलफूलका विरुवासमेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्दलाल बुढाले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सिर्जना समुदायिक वन उपभोक्ता समितिलाई छनोट गरि लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराईएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।

टिप्पणीहरू