सेतीमा वहाब बढ्यो भन्ने हल्ला मात्र हो : बाढीविज्ञ पराजुली

सेतीमा वहाब बढ्यो भन्ने हल्ला मात्र हो : बाढीविज्ञ पराजुली

सेती नदीमा पानीको वहाब र सतह बढेको भनिएका समाचार निराधार रहेको बताइएको छ । उक्त क्षेत्रमा निरन्तर वर्षा भएपनि सेती नदिमा बाढिको वहाब नबढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बताउनुभएको छ ।

जनआस्थासँगको कुराकानीमा पराजुलीले स्थानीय जिल्ला प्रशासनले सूचना प्रकाशन गर्दै सतर्क रहन आग्रह गरे पनि सेतीले हालसम्म खतराको सतह ननाघेको उल्लेख गर्नुभयो । पानी परिरहँदा खोलाको बहाव केही हदसम्म बढ्नु सामान्य रहेको बताउँदै अहिले नै बस्ती छाडेर भाग्ने, रातभर जागराम बस्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

उता, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

आज बागमती प्रदेश र प्रदेश नम्बर १ का एकाध स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित निकै ठूलो वर्षाको सम्भावना, राती देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि उसले जनाएको छ ।

आज राती सुदुरपश्चिम प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

टिप्पणीहरू