निषेधाज्ञा उल्लंघन गर्ने २७ सय बढी सवारी साधन प्रहरी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने २७ सय बढी सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्ये ७ सय ९४ वटा चार पाङ्ग्रे र १ हजार ९ सय ५२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपछि छाडिएको थियो ।

नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ सय ५६ जनालाई निःशुल्क मास्क समेत वितरण गरिएको छ । उक्त कार्यक्रममा हालसम्म ४ लाख ५६ हजार ४ सय ७१ जनालाई निःशुल्क मास्क वितरण गरिएको बताइएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९३ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम १९ हजार ३ सय रुपैयाँ जरिवाना समेत गरिएको छ । सो क्रममा १ हजार ८ सय ११ जनालाई सम्झाई बुझाई छाडिएको छ ।

यसबीचमा देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट वितरणसहितका ५६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार ६ सय ५६ जनालाई सचेत गराइएको छ ।

नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी निषेधाज्ञाको अनुगमनलाई समेत तीब्रता दिएको बताइएको छ ।

टिप्पणीहरू