बाँकेमा चैते धान पाक्दा किसान हर्षित

बाँकेमा चैते धान पाक्दा किसान हर्षित

बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादन दोब्बर भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाउँका अन्य किसानहरु पनि अकार्षित भएका छन् ।

पश्चिम तराईको बाँके र बर्दियालाई अन्नको भण्डार मानिन्छ । बर्दियाका किसानहरु एक दशक अघिदेखि चैते धानतर्फ अकार्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानले चैते धान फलाएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा बाह्रै महिना पानी आउन थालेपछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिऊ उपलब्ध गराएको थियो । चैते धान फलाउन सफल बैजनाथ गाउँपालिका ८ झिंगौराका किसान अजितकुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को वर्षदेखि धेरै खेतमा रोपाईं गरिने बताएका छन् ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कठ्ठा खेतमा चैते धान फलाउन सफल भएका छन् । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर वर्षे धान लगाउने तयारी गरेको बताए । परीक्षणको रुपमा हल्दीनाथ–३ र चैेते धान–५ लगाइएको थियो ।

लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि चैते धानखेती बारे बताएका थिए ।

बाँकेमा अघिल्लो वर्ष शुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मुसुरो र चैतमा चैते धान खेती गरिएको छ । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको किसानहरुले बताएका छन् ।

टिप्पणीहरू