महामारीमा जन्मथलोको निम्ति जुर्मुराए बेलायत बस्ने नेपाली

महामारीमा जन्मथलोको निम्ति जुर्मुराए बेलायत बस्ने नेपाली

कोरोना महामारीको दोस्रो लहरले विश्व नै त्रसित रहेको र नेपाल आक्रान्त बनेको बेला विदेश बस्ने केही नेपाली आफ्नो जन्मथलोको निम्ति सहयोग जुटाउन व्यस्त देखिएका छन् । त्यहि क्रममा हाल बेलायतमा बस्दै आएका शिवजी श्रेष्ठले आफूले नेपाललाई अहिलेको अप्ठेरो समयमा सहयोग जुटाउन बेलायतका पूर्वमन्त्री तथा हालकी सांसद मारिया मिलरसँग गरेको सहयोगसम्बन्धी अनुरोधको सकारात्मक जवाफ प्राप्त भएको बताउनुभएको छ ।

श्रेष्ठका अनुसार मारियाले बेलायतको दक्षिण एसिया मामिला हेर्ने राज्यमन्त्रीसँग गहन ढंगले गरिएको छलफलपछि नेपाललाई उपलब्ध गराइने सहयोग सम्बन्धमा लिखित पत्र प्राप्त भएको जानकारी गराउनुभएको छ ।

मरियाले मन्त्री लर्ड (तारिक) अहमद अफ विम्वल्डनबाट प्राप्त पत्रसहित नेपाललाई बेलायतले गरेको र गर्न लागेको सहयोगको बारेमा गराएको विस्तृत जानकारी श्रेष्ठलाई समेत अवगत गराएको बताइएको छ ।

मन्त्री विम्बल्डनले बेलायतले कोरोना महामारीसँग जुध्न नेपाललाई ४ करोड बेलायती पौण्ड बराबरको सहयोग गर्न लागेको जानकारी दिएका छन् । नेपालमा सुरक्षित आवास,पोषण तथा अन्य महत्वपूर्ण सहयोगको लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघमार्फत् डेढ करोड पौण्ड पनि सहयोग गरिने बताइएको छ ।

सहयोगमा २ लाख २० हजार विपन्न समुदायका मानिसहरुको आधारभूत आवश्यकता, १ लाख २० हजार गर्भवती र स्तनपान गराउने महिला र शिशुहरूलाई पोषणयुक्त खाना, ४ लाखको निम्ति खानेपानी तथा सरसफाईको लागि नगद सहयोग प्रदान गर्ने गरी ५२ स्थानको निम्ति २ सय १० वटा राहत सामाग्रीसहितका ट्रक तयारी अवस्थामा रहेको बताइएको छ ।

बेलायतले यसबीच काठमाडौंको नेपाल प्रहरी अस्पतालमा एउटा अक्सिजन प्लाण्ट निर्माणमा सहयोग गरेको र नेपालको झण्डै २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप युनिसेफको कोभ्याक्स मार्फत् सहयोग गरिने वचन समेत राज्यमन्त्री लर्ड अहमदले उल्लेख गरेका छन् ।

टिप्पणीहरू