हिजो मुलुकभर भएका घटना र दुर्घटनामा ८ जनाको ज्यान गयो, ९ पक्राउ

हिजो मुलुकभर भएका घटना र दुर्घटनामा ८ जनाको ज्यान गयो, ९ पक्राउ

सोमबार मुलुकभर भएका विभिन्न घटनामा ९ जना पक्राउ परेका छन् भने ७ जनाको ज्यान गएको छ । काठमाण्डैंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङ्ग टहरामा अवैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेशका २४ वर्षीय रोशन जैसवालसहित २ जना सोमबार पक्राउ परेका हुन् । टहरामा अवैध रुपमा उत्पादन गर्दै गरेको १ सय मिलिलिटरको ९ सय ३५ थान, ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, महामारी र निषेधाज्ञामा तास खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ परेका छन् । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, बालुवाखानी ज्योतीनगर बस्ने दीपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ धुनीबेसी नगरपालिका–२ का ३३ वर्षीय सुरेन्द्र खकुरेललगायत ५ जना सोमबार पक्राउ परेका हुन् । उनीहरुको साथबाट नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास प्रहरीले बरामद गरेको छ ।

अवैध काठ र ट्याक्टरसहित कैलालीको जोशीपुर गाउँपालिका–३ बडहरीयाका हरिलाल चौधरीलाई से.१ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको २ थान सालको काठसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीमा गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । लोहारपट्टी नगरपालिका–६ का ४५ वर्षीया गायत्रीदेवी साह अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट सोमबार राति घाइते भएकी हुन् ।

रातको समयमा घरमा चोरी गरेको थाहा पाएपछि हो–हल्ला गर्दा उनीहरुले गायत्रीको बाँया तिघ्रामा गोली प्रहार गरेका थिए । घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

गोली प्रहारपछि उनीहरुले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रुपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लिइ फरार भएको बताइन्छ ।

घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाईभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ ।

उता, कास्की र स्याङजामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदु बस्ने शेरबहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, स्याङ्जाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुईंमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर मोरङमा एक पुरुषको ज्यान गएको छ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

पिङ खेल्ने क्रममा ९ वर्षीय बालकको मृत्युभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–६ कमेरापानीका बिस्नुबहादुर थापाको ९ वर्षीय छोरा सन्दिप थापाको पिङ खेल्ने क्रममा नाम्लोको डोरी घाँटीमा कसिँदा सोमबार दिउँसो मृत्यु भएको हो ।

सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–३ का ५० वर्षीय सतो खंग खत्वेको सोही नगरपालिका–११ गोरपरस्थित नरिवलको रुखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो ।

नरिवल टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

गोरखा र कैलालीमा डुबेर दुई जनाको मृत्यु भएको छ । गोरखाको अजिरकोट गाउँपालिका–४ बालुवा सिम्पानीका ३४ वर्षीय भिम बहादुर परियारको सोही ठाउँस्थित दरौदी खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । उक्त खोलामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर डुब्दा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–७ चाकाबाडीका पदम बिकको ७ वर्षीय छोरा बिप्लप बिकको रोडा नदीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

टिप्पणीहरू