प्रधानमन्त्रीको हतारोले बिचरा कर्मचारीलाई पेलान

प्रधानमन्त्रीको हतारोले बिचरा कर्मचारीलाई पेलान

प्रधानमन्त्री केपी ओलीको रहर पूरा गर्न सुरुङ्ग मार्ग परीक्षण नै नगरी उद्घाटन गरिएको मेलम्चीको पानी दुई महिना बन्द हुने भएको छ । सुरुङ्ग मार्ग परीक्षणका लागि असार १ गतेदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

त्यतिबेलै परीक्षण गरेर पानी पठाउन थाल्नुपर्नेमा छिटो उद्घाटन गर्ने चाहनाका कारण अहिले बल्ल परीक्षण गर्न लागिएको हो ।

सुरुङ्ग परीक्षणको काम बाँकी हुँदै पानी खसालिएकोमा विज्ञहरुले असन्तुष्टि जनाएका थिए । २५ वर्ष प्रतिक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम सकेर मात्र संचालनमा ल्याउन उनीहरुले सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले बजेटमार्फत सित्तै उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने सोचिबिचारी हिसाबसहित पेलपाल गरेर काम सक्न लगाएको खानेपानी मन्त्रालयका कर्मचारीहरुको गुनासो छ ।

प्रधानमन्त्री ओलीले बजेटमार्फत सित्तै उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने सोचिबिचारी हिसाबसहित पेलपाल गरेर काम सक्न लगाएको खानेपानी मन्त्रालयका कर्मचारीहरुको गुनासो छ । प्रधानमन्त्रीले सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) मिचेर उद्घाटन गरेका कारण त्यतिबेला गर्नुपर्ने काम अहिले गर्नु परेको उनीहरुको भनाइ छ ।

एक प्राविधिक कर्मचारीका अनुसार असार १ गतेदेखि पानी भर्न बन्द गरेर सुरुङ्गमा जमेको पानी खाली गर्न १५ दिन लाग्छ । सुरुङ्ग खालि भएपछि बल्ल परीक्षण गर्ने हो । असारको १५ बाट विज्ञहरुले परीक्षण थाल्ने उनको भनाइ छ । उनले टनेलमा कुनै जटिल समस्या नदेखिए साउन १५ भित्र पानी पठाउन सकिने बताए ।

टनेलमा पानी हालेपछि कम्तिमा १५ दिन दुबैतिर गेट बन्द गरेर राख्नुपर्ने हुँदा समस्या नदेखिए पनि कम्तिमा डेढ महिना पानी नआउने उनको भनाइ छ । उनका अनुसार त्यसपछि पानी फालेर टनेलको प्रभावकारिता परीक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि बल्ल पानी हाल्नुपर्ने उनको भनाइ छ ।

‘यो काम उद्घाटनअगावै गर्नुपर्थ्यो । तर त्यतिबेला नगरेकाले अहिले गर्न लागिएको हो’, उनले भने, ‘टनेलमा प्रब्लम देखिएन भने पनि एक,डेढ महिना त गैहाल्छ । टनेलमा कस्तो क्षति छ त्यसका आधारमा अरु कुरा भन्न सकिन्छ ।’

त्यसकारण करिब दुई महिनामा अब मेलम्चीको पानी काठमाडौं नआउने उनले बताए ।
अपर तामाकोशीमा पनि कामै नसकी जेठ १२ गते उदघाटन गर्ने हतारोले पानी चुहिएको सर्वविदितै छ ।

टिप्पणीहरू