निश्कासनको लहर

निश्कासनको लहर

जनता समाजवादी पार्टीमा अहिले एक गुटले अर्को गुटलाई पूरा होलसेलमै निश्कासन गर्ने लहर शुरु भएको छ । अस्ति भर्खर उपेन्द्र यादव गुटले महन्थ ठाकुर गुटको एक ढिक्कैलाई निश्कासन गरिदियो । उता महन्थ ठाकुर गुटले पनि उपेन्द्र यादवको पूरा ढिक्कालाई नै निश्कासन गरेको छ ।

जसपामा उपेन्द्र यादव पनि अध्यक्ष हुन्,महन्थ ठाकुर पनि अध्यक्ष हुन् । दुवै अध्यक्ष भएका कारण अर्का अध्यक्षलाई निश्कासन गर्ने अधिकार दुवैलाई हुने नै भयो । त्यही अधिकार प्रयोग गरी दुवै अध्यक्षले दुवै अध्यक्षलाई निश्कासन गरेका छन् ।

तसर्थ अहिले जसपा दुवैतर्फबाट अध्यक्षविहीन पोजिसनमा पुगेको देखिन्छ । अर्थात् जसपा अहिले अध्यक्षविहीन पार्टी बनेको छ ।

शायद यसपछि पनि जसपामा निश्कासनको श्रृंखला सकिँदैन जस्तो लाग्छ । अध्यक्षहरूको पालो सकियो । अब उपाध्यक्ष, सचिवलगायत अन्य सदस्यलाई निश्कासन गर्ने चरण शुरु हुन्छ होला ।

यदि,दुवै पक्षले दुवै पक्षका नेता,कार्यकर्तालाई यसरी नै निश्कासन गरिरहने हो भने निकट भविष्यमै जसपा एक पूराका पूरा नै कार्यकर्ताविहीन पार्टीमा रुपान्तरण हुने निश्चित छ ।

अर्थात् पार्टी त रहनेछ तर कार्यकर्ता भने रहने छैन । के जसपा अब साँच्चिकै यस्तो पार्टी बन्न जान लागेको हो ?

टिप्पणीहरू