ताप्लेजुङमा ६२६ संक्रमित १० को मृत्यु

ताप्लेजुङमा ६२६ संक्रमित १० को मृत्यु

-कमल भट्टराई

ताप्लेजुङमा दोस्रो पटक वा दोस्रो भेरियन्ट कोरोना देखिएको वैशाख १० गतेदेखि जेठ १४ गतेसम्म जम्मा ६२६ जना कोरोना संक्रमित देखिएका छन् । तीमध्ये १० जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ चीन र भारतको सिक्किम संग जोडिएको हिमाली जिल्ला हो । फुङलिङ बजार बाहेक अन्य क्षेत्रहरूमा पातला गाउँ बस्तीहरू रहेका छन् । अहिले यहाँका सबै स्थानीय निकायहरूमा कोरोनाको लक्षण पुगेको देखिएको छ । गाउँ बस्तीमा कोरोना पुगेका कारण चेक जाँच र उपचारमा समस्या देखिन थालेको छ ।

ताप्लेजुङको हिमाली गाउँ घुन्सा, फले जस्ता स्थानमा समेत कोरोनाका लक्षण देखिनाले गाउँहरू त्रसित भएका छन् । पापुंको राजेश्वरी प्राविमा कार्यरत शिक्षक देवनारायण चौधरी सन्च भएन भन्दै आफ्नो गाउँ घर सिराहतर्फ गएका थिए। उनको जेठ १३ गते बेलुका कोरोनाका कारण मृत्यु भएको खबर आएको छ । पापुंकै स्वास्थ्यचौकीका अहेवसमेत कोरोना पोजेटिभ भएर स्वास्थ्यचौकीकै एउटा कोठामा बसेका छन् ।

यस्तो महामारीमा एक मात्र स्वास्थ्यकर्मी भएका कारण उनी आफै बिरामी भए पनि गाउँमा स्वास्थ्य उपचारमा समस्या आउँदा आफू पोजेटिभ भएर पनि सुरक्षित रहँदै गाउँवासीलाई स्वास्थ्य सरसल्लाह र सुझाव दिइरहेका छन् ।

ताप्लेजुङको पापुङले यसपहिलेदेखि नै स्वास्थ्य समस्या झेल्दै आएको छ केही वर्षपहिले अ.हे.व. को दरबन्दी लामो समय खाली नै थियो । ग्रा.स.का. चन्द्रहाङ खापुङ एक्लै पापुङका जनाताको स्वास्थ्य सेवामा खटिइरहेका थिए । उनी एक दिन आफैँ बिरामी परे, उनी कमजोर भए उनले जानेबुझेका र चिनेका औषधि आफैं खाए तर उनलाई बिमार बिसेक भएन, हालका वडाध्यक्ष डण्डु लामालाई बोलाउन बिहानै खापुङले उनका छोरा पठाए छोराले डण्डुलाई ल्याए ।

खापुङले डण्डुलाई भने, ‘साइला मलाई ठीक भएन म सिकाउँछु यो स्लाइन मलाई लाइदेऊ न’ तर डण्डुले स्लाइन लगाइदिने आँट गरेनन् अथवा सकेनन् । त्यसको दुई घण्टापछि तेह्रथुम निवासी ग्रासका कन्दङवाको पापुङ गाउँमा निधन भयो । एउटा स्वास्थ्यकर्मीले एकथोपा स्लाइनसम्म नपाउँदै ज्यान गुमाउनुप¥यो ।

स्वास्थ्य सेवामा नेपाल सरकारको पहुँच कुना कन्दरामा पुग्न अभै बाँकी छ पापुङले यही देखाइरहेको छ । अझ यस पटकको महामारीले देखाएको छ देशका २ प्रतिशत जनता बिरामी भए भने औषधोपचार त हैन आरामले सुत्न दिने बेडसम्म रहेनछ । पापुङ र कोरोना महामारी हेर्दा लाग्छ राज्यले स्वास्थ्यमा कति नै विकास गरेछ र !

टिप्पणीहरू