कोरोना संक्रमितको घरघरै औषधी लिएर मेयर,उपमेयर

कोरोना संक्रमितको घरघरै औषधी लिएर मेयर,उपमेयर

उदयपुर कटारी नगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसेका बिरामीहरुलाई होम आइसोलेशन किट वितरण र स्वास्थ्य परामर्श सेवा शुरु गरेका छन् ।

कोरोना संक्रमितको घरघरै औषधी र स्वास्थ्यकर्मीहरुको टोली लिएर मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भीमकुमारी राउत जान थालेका हुन् । कटारी नगरपालिकाभित्र कोरोना संक्रमित एक सय १५ जनामध्ये ९३ जना होम आइसोलेशनमा बस्न थालेपछि घरघरै गएर यस्ता सामग्री वितरण शुरु गरिएको हो ।

जनस्वास्थ्य शाखा कटारीका प्रमुख सुरेश दाहालका अनुसार ताराघारी आइसोलेशन सेन्टरमा ७ जना संक्रमित छन् भने तीन जना संक्रमितको मृत्यु र १५ जना निको भएका छन् ।

होम आइसोलेशनमा बस्न नचाहने,नसक्नेहरुलाई कटारी ताराघारीस्थित आइसोलेशन सेन्टरमा खाने,बस्ने लगायतका सबै सेवा निशुल्क प्रदान गरिदैंआएको छ । यसका साथै एन्टिजेन परिक्षणको दायरालाई बढाएर गाउँगाउँ पुर्याइएको छ ।

स्वास्थ्य किटमा भिटामिन सी, भिटामिन बी कम्प्लेक्स,भिटामिन डि विथ क्याल्सियम, प्यारासिटामोल जस्ता एलोपेथिक र इम्युनोकेयर जस्ता आयुर्वेदिक औषधीहरु रहेका छन् । साथै किटमा मास्क,सेनिटाइजर,साबुन, नेलकटरलगायतका व्यक्तिगत स्वास्थ्य र सरसफाइसम्बन्धी सामग्री पनि राखिएको छ ।

कोरोना संक्रमित सबैको घरघरै पुगेर यी सामग्री वितरण गरिने कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । यसको साथै संक्रमितहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श पनि स्वास्थ्यकर्मीहरुले औषधी वितरणसँगै दिन शुरु गरेका छन् ।

होम आइसोलेशनमा बसेको अवस्थामा संक्रमितहरुले स्वास्थ्यसम्बन्धी कुनै समस्या भोग्नु परेमा कटारी अस्पतालको ९८५२८३६१८८ र कटारी नपाका स्वास्थ्य शाखाको ९८६९७९७६७८ नम्बरमा सम्पर्क गरी परामर्श लिन पनि अनुरोध गरिएको छ ।

टिप्पणीहरू