निषेधाज्ञा र महामारीबीच आज पनि विभिन्न अपराध र दुर्घटना

निषेधाज्ञा र महामारीबीच आज पनि विभिन्न अपराध र दुर्घटना

निषेधाज्ञा र महामारीमा १४ जना जुवाडे काठमाडौंमा पक्राउ

काठमाडौंमा आज तास खेलिरहेको अवस्थामा १४ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्धका ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङसहित ७ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक चितवनका ३२ वर्षीय कृष्ण अधिकारीसहित ७ जना पक्राउ परेका छन् ।

अधिकारीले उक्त लजमा जुवा, तास खेल्ने खेलाउने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

छोराले आग्लो प्रहार गर्दा बाबु गम्भीर घाइते

धनुषामा ढोकामा लगाउने आग्लो प्रहारबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । विदेह नगरपालिका–९ वैदेहीका ६२ वर्षीय मिथलेश्वर तिवारी छोराले हानेको ढोकाको आग्लोबाट बुधबार बिहान गम्भीर घाइते भएका हुन् ।

आफ्नै छोरा ३० वर्षीय श्याम तिवारीले टाउकोमा आग्लो प्रहार गर्दा गम्भीर घाइते भएका मिथलेश्वरलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । आग्लो प्रहार गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनामा जवानदेखि वृद्धसम्म ४ को मृत्यु

रामेछाप, बाँके, सप्तरी र तनहुँमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

रामेछाप नगरपालिका–४ पामतीमा ना.६ त ६८३६ नम्बरको दुर्घटना हुँदा त्यसमा सवार लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँका ५५ वर्षीय लालसिंह सुनुवारको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटना परी घाइते भएका सोही ठाउँ बस्ने १९ बर्षीय सन्तोष सुनुवार सहित २ जनालाई उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा पठाइएको छ ।

यस्तै, बाँकेको राप्तिसोनारी गाउँपालिका–२ अगैया बजारका ५६ वर्षीय कृष्णबहादुर कुमालको ना.४ ८६६८ नम्बरको ट्रकले च्यापिएर मृत्यु भएको छ ।

सडकमा रोकी राखेको उक्त ट्रकमुनि बसिरहेको अवस्थामा चालक दाङ तुलसीपुर उपमहानगरपालिका–८ का २७ वष्र्षीय योगेन्द्रबहादुर वलीले ट्रक चलाउँदा च्यापिएर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको सुरुङा नगरपालिका–७ चकदहमा पनि स.१ त १४६७ नम्बरको ट्रयाक्टरबाट लडेर स्थानीय २० वर्षीय प्रदिप यादवको मंगलबार राति मृत्यु भएको छ । माटो लोड गरेको ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ धामीकुनामा ग.१ त ६८१८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय राजु पौडेलको गए राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको तनहुँ सेवा अस्पताल दुलेगौंडा हुँदै चरक हस्पिटल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मृत अवस्थामा फेला

कास्की र रामेछापमा गरि दुई शव फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–८ भक्ति मार्गमा डेरा गरी बस्ने भारत मोतिहारी ढाकास्थित मल्कौनियाका ३८ वर्षीय शेषनाथ जैसवाल आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै,रामेछापको मन्थली नगरपालिका–८ गाईखुरास्थित तामाकोशी नदी किनारमा परिचय नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।लागूऔषध सहित ३ जना पक्राउ

कास्की र कपिलवस्तुमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, बुनेखोलाबाट झण्डै ३ सय ग्राम गाँजासहित पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने गोरखा सुलिकोट गाउँपालिका–४ सौरपानीका ३० वर्षीय कृष्णा नेपाली पक्राउ परेका छन् ।

सिदिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ४४२९ नम्बरको मिनीट्रकलाई अस्थायी प्रहरी पोष्ट भेँडाबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिका–३ फुलीकाबाट ६ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुपन्देही कन्चन गाउँपालिका–५ का २७ वर्षीय मदनकुमार दर्लामी मगर र सोही ठाउँका २८ वर्षीय विनोद दर्लामी मगर रहेका छन् ।

बरोहियाबाट पचेहेरातर्फ जाँदै गरेको बा.८० प ९६९० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिका करणी गरेको अभियोगमा १ जना पक्राउ

रुपन्देहीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ बुद्धनगरका ५३ वर्षीय हेमलाल गन्धर्व मंगलबार साँझ पक्राउ परेका हुन् ।

आरोपित गन्धर्वले बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको बताइएको छ । घटनाबारे जानकारी प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू