कोरोनाको कहरमा अनेक अपराध,विभिन्न क्षति

कोरोनाको कहरमा अनेक अपराध,विभिन्न क्षति

सप्तरी
शम्भुनाथ नगरपालिका–७,भँगाहा बस्ने तेजुलाल दासको घरमा आगलागी भएर नगद ३१ हजार रुपैयाँ,अन्नपात, भाँडावर्तनलगायतका सामानहरु जली करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

४ शव फेला
काठमाडौं,मकवानपुर र बाँकेमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५,थलीस्थित चौरमा स्थानीय ३२ वर्षीय राजन परियारको लाश फेला परेको हो । यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास घर भई खरिबोट भृकुटी टोल बस्ने २७ वर्षीय प्रविन खड्गी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै,मकवानपुरको मनहरी गाउँपालिका–८ बगरटोलस्थित गोठमा सोही गाउँपालिका सिमपानी बस्ने ४६ वर्षीय बिष्णु घिमिरेको लाश फेला परेको छ ।
उता बाँकेको कोहलपुर नगरपालिका–११,उज्यालो बजारस्थित कृष्ण नकर्मीको खाली घरमा परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पानी ट्याङकीमा बालक
धादिङमा पानी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
छिमेकीको घरमा निर्माण गरिएको पानी ट्याङ्कीमा डुबेर गजुरी गाउँपालिका–२ बस्ने शक्ति थापाका तीन वर्षीय छोरा प्रवेश थापाको शनिबार बिहान मृत्यु भएको हो ।
डुबेर अचेत अवस्थामा उद्दार गरी बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

सवारी दुर्घटना
काठमाडौँ र रुपन्देहीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, गोकर्णेश्वर मन्दिर नजिकको सडकमा बा।३ ख ४७७९ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०२० प ४५३० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटी घर भएका ४० वर्षीय नरेन्द्रविक्रम घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्धौलामा लु।४ त १७१८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने सुक्कु लोहारको छोरा १२ वर्षीय कन्हैया लोहारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रयाक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध
तनहुँ र बैतडीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–६, चैतेडाँडास्थित सामुदायिक जङ्गलबाट करिब १२ केजी गाँजासहित सोही नगरपालिकास्थित प्रेम चौतारा बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–६, डाम्राङका २८ वर्षीय क्षेत्रबहादुर चेपाङसमेत दुई जनालाई शुक्रबार साँझ प्रहरीले समातेको हो ।
इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो ।
यस्तै,बैतडीको सूनर्या गाउँपालिका–६, शंकरपुरबाट करिब ७ सय ग्राम चरेशसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूनर्या गाउँपालिका–६ बस्ने २० वर्षीय प्रकाश बिष्ट र सोही गाउँपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिष्ट रहेका छन् ।
सु.प.प्र. ४००१ प ०० १५ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी रौलेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित फेला पक्राउ गरेको हो ।
हत्या
दैलेख र मोरङमा भएका छुट्टाछुट्टै हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेखमा आफ्नै बुबा ४७ वर्षीय नकुल बुढाको हत्या गरेको अभियोगमा डुङ्गेश्वर गाउँपालिका–६ डुङ्गेश्वर बजार बस्ने २१ वर्षीय विकास बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
विकासले आफ्नै बुबालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको खबरपछि प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते नकुलको स्थानीय मेडिकल डुङ्गेश्वरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै मोरङको लेटाङ नगरपालिका–३,त्रिशुली चोक बस्ने २२ वर्षीय रोमन राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय माटोकुरे भन्ने दिलबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
पुरानो रिसइबीको कारण सोही ठाउँ बस्ने २१ वर्षीय सुशील दर्जी र लिम्बुले छुरा प्रहार गर्दा रोमन गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, लेटाङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गर्नेमध्येका लिम्बुलाई पक्राउ गरेको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका रोमनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । हाल फरार दर्जीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू