आज पनि प्रहरीको सक्रियतामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन

आज पनि प्रहरीको सक्रियतामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।

संकलन गरिएका सिलिन्डरमध्ये १ हजार ८ सय ५४ अक्सिजन भरिएका र ४ हजार ८ सय ५ वटा रित्तो सिलिन्डर रहेका छन् । तीमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताललाई र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

बाँकी १ हजार ३ सय ६६ वटा सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने बताइएको छ । कतिपय खाली सिलिन्डरलाई अक्सिजन भर्न डिपोमा समेत पठाइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा मौज्दात गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको बताइएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको संक्रमणको कारण यसको रोकथाम, नियन्त्रणका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्णरुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले थप सक्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि मौज्दात राख्ने व्यक्ति तथा संघ, संस्थाउपर प्रचलित ऐन कानुनबमोजिम कारबाही समेत हुने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू