कमरेड मर्दा कमरेड बेपत्ता,झण्डा ओढाउने जम्मै काङ्ग्रेस

कमरेड मर्दा कमरेड बेपत्ता,झण्डा ओढाउने जम्मै काङ्ग्रेस

-प्रतिक्षा क्षेत्री

आफ्नाे मान्छे भनेकाे जिउँदाकाे जन्ती,मर्दाकाे मलामी भन्छन् तर बुटवलमा त्यसाे हुन सकेन ।

काेराेनाकाे कारण बेड नपाएर अकाल मृत्युवरण गरेका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य नविन थापा बाँचुन्जेल सबका प्रिय थिए । एमालेका नेताहरुले उनलाई बाँचुन्जेल खुबै दाैडाए । हरेक सभा,सम्मेलन र बैठकमा उनकाे उपस्थिति महत्त्वपूर्ण देखिन्थ्यो ।

घरपरिवार भन्दा उनकाे लागि पार्टी प्याराे थियाे । तर बिडम्बना,हाल चलिरहेकाे महामारीकाे चपेटामा उनी पनि परे । अाम जनताले उपचार नपाइरहेकाे बेला उनले समेत उपचार पाएनन् । उपचार त पाएनन्,पाएनन् मरेपछि अाफ्ना भनाउँदा एमालेहरु मलामीसमेत गएनन् ।

बाँचुन्जेल उपचार नपाएका उनकाे मृत्युपछि जिन्दगीभरि साथ दिएकाे पार्टीबाट एकजना पनि अन्तिम सँस्कारमा सहभागी नहुँदा परिवार यतिबेला अत्यन्तै दुखी छ । परिवारका सदस्य दुखित भन्छन्, ” पार्टीकै कार्यकर्ता,वडासदस्य जसले पार्टी भनेपछि पस्केकाे भातसमेत छाडेर हिंड्थ्याे तर बिमारी पर्दा न उपचार पायाे न त मरेपछि मलामी नै ।”

एमालेकाे युवा नेतासमेत भनेर स्थापित थापा एमाले महासचिव बिष्णु पाैडेलकाे क्षेत्रकाे सशक्त युवा थिए । उनकाे अन्तिम संस्कारमा एमालेका नेता, कार्यकर्ता काेहि नअाएपछि कांग्रेस तरुण दलका नेताहरुले सद्गद गरेका हुन् ।

यद्यपि एमाले नेतृत्वले काेराेनाकाे कारण मृत्यु भएकाेले सदगदमा स्वास्थ प्रोटोकलअनुसार नगएकाे बताएका छन् ।

स्थानीय तरुण दलका नेता हरि क्षेत्रीसहितकाे टाेलीले अन्तिम श्रद्धाञ्जलीसहित बुटवलको मगरघाटमा लगेर दागबत्ती दिएको छ । तर बडाे गज्जब त के भने तरुण दलका नेताले कम्युनिस्टकाे झन्डा अाेढाएर उनकाे अन्तिम संस्कार गरेका थिए ।

कोरोनाकै कारण मृत्यु भएका उनको शव तीन दिनसम्म कसैले उठाएको थिएन । तीन दिन बितिसक्दा पनि एमालेका मान्छे कसैले थापाको शव दाहसंस्कारमा चासाे नदेखाएको तरुण दलको आराेप छ । एमालेले दाहसंस्कार नगरेपछि नेपाल तरुण दल वार्ड सभापति रवि गौचनको नेतृत्वमा स्थानीय युवाहरु मिली मृतआत्माको शान्तिको कामना सहित मगरघाटमै श्रद्धाञ्जली कार्यक्रमसमेत राखेका थिए ।

युसिएमएस भैरहवाबाट थापाको शव ल्याएर उनको मृतआत्मालाई न्याय दिनका लागि एमालेको झण्डा खाेजी-खाेजी ओढाएको सभापति गौचनले जानकारी दिए । अन्तिम संस्कारमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता,कार्यकर्ता सहभागी थिए ।

टिप्पणीहरू