आज देशभर के-के सामाजिक र आपराधिक घटना भए ?

आज देशभर के-के सामाजिक र आपराधिक घटना भए ?

प्रहरीले निकाल्यो ६ सय ७० थान अक्सिजन सिलिण्डर

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ । जसमध्ये ३ सय ९१ अक्सिजन भरिएका र २ सय ७९ रित्तो सिलिण्डर रहेका छन् ।

संकलित सिलिण्डरमध्ये ४ सय ९७ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका १ सय ७३ वटा सिलिण्डर आवश्यकताअनुसार वितरण गरिने प्रहरीले जनाएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग,कलकारखाना, कवाडी ग्यास वेल्डिङ,पसल तथा गोदामहरूमा मौज्दात राखेका अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको जनाइएको छ ।

साथै,स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि मौज्दात राख्ने व्यक्ति तथा सम्बन्धित निकायउपर आवश्यक कारबाहीका लागि थप अनुसन्धानसमेत भइरहेको उल्लेख गरिएको छ । जथाभावी तवरबाट मौज्दात राख्नेलाई व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुनबमोजिम कारबाहीसमेत हुने प्रहरीले जनाएको छ ।

यस्तै,प्रहरीले निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखेको पनि बताएको छ ।

चट्याङबाट आगलागी हुँदा धनमाल जलेर नष्ट

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९,ओख्रेनी बस्ने खड्गबहादुर कार्कीको घरमा परेको चट्याङबाट सोमबार साँझ आगलागी भएको छ ।

आगलागी हुँदा घर,भाडावर्तन, अन्नपात,लत्ताकपडालगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

विभिन्न धनमाल चोरी

सिरहाको लहान नगरपालिका–१ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरमा चोरी भएको छ । ठाकुरको घरबाट करिब २ तोला सुन,२० तोला चाँदीका गहना र नगद ६ लाख रुपैयाँ सोमबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भैरहेको बताइन्छ ।

तीन जना मृत अवस्थामा फेला

काठमाडौँ तथा पश्चिम नवलपरासीमा आज तीन वटा शव फेला परेका छन् । काठमाडौंको कागेश्वरी नगरपालिका–२,सुन्दरीजल डेरा गरी बस्ने उदयपुर चिलाउने गाउँपालिका–२ का ४० वर्षीय सन्तोष शिवा सुन्दरीजलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं सानोभर्याङ डेरा गरी बस्ने नुवाकोट,बेलकोटगढी नगरपालिका–११ घर भएका ४८ वर्षीय आईते तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

तारकेश्वर नगरपालिका–५ लोलाङ्ग हाइटस्थित पाथीभरा अटोवर्कसपमा काम गर्ने उनी मर्मतको लागि राखिएको बसको क्याबिनमा मृत फेला परेका हुन् ।

त्यस्तै,पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका ६५ वर्षीय खुश्बुदिन अन्सारी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

फलामे रड लोड गर्ने क्रममा लडेर मृत्यु

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–३,नन्दपुरका २७ वर्षीय खुसीहाल कमकरको क्रेनमा रड लोड गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

लु.१क २४७७ नम्बरको क्रेनमा रड लोड गर्ने क्रममा चिप्लिएर लड्दा कमकर गम्भीर घाइते भएका थिए ।

लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि भैरहवातर्फ लैजाने क्रममा क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

क्रेन चालकलाई भने प्रहरीले नियन्त्रणमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सप्तरी र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहामा ना.६ख ३८६१ नम्बरको ट्रकले साइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा साइकल चालक स्थानीय ४५ वर्षीय सत्यनारायण मण्डल र साइकलमा सवार श्रीमती ४० वर्षीया सुनितादेवी मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि भारदह सप्तरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–३, मैनारीमा लु.३ त ९०६८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ट्रयाक्टरमा काम गर्ने शिवराज नगरपालिका–१, शिवपुरका १९ वर्षीय राजकुमार थारुको मंगलबार बिहान मृत्यु भएको छ ।

बालुवा लोड गर्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू