झापामा गोरु काट्ने २ जना पक्राउ

झापामा गोरु काट्ने २ जना पक्राउ

गोरु काटेर मासु बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोर समातिएका हुन् ।

उनीहरूले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने सुराकीको आधारमा इलाका प्रहरी कार्यालय,अनारमनीबाट खटिएका प्रहरीले काटिरहेको मासु १५ किलो ५ सय ग्रामसहित पक्राउ गरेका हुन् । उता सवारी दुर्घटनामा ४ जनाको मृत्यु म्याग्दी,चितवन र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर पुरुन्ने भन्ने स्थानमा ग.१त ६५८७ नम्बरको ट्रयाक्टर सोमबार साँभ सडकबाट करिब १ सय मीटर तल खस्दा ट्रयाक्टरमा सवार बेनी नगरपालिका–९ बस्ने ३८ वर्षीय दलबीर परियारको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै,चितवनको भरतपुर महानगरपालिका–२९,जुगेडीस्थित सडकमा ना.४ख ४४६० नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५६ वर्षीय धनबहादुर गुरुङको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

उता,तनहुँको आँबुखैरेनी गाउँपालिका–४,पावर हाउसस्थित सडकमा ना.३ ख ९९७३ नम्बरको ट्रक मंगलबार बिहान सडकबाट करिब १ सय मीटर तल मर्स्याङ्दी नदीमा खसेको छ ।

दुर्घटनामा परिचय नखुलेका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकको आधा भाग नदीमा डुबेको छ ।

टिप्पणीहरू