पत्रकार केदार कोइरालालाई ५ वर्ष ३ महिना कैद

पत्रकार केदार कोइरालालाई ५ वर्ष ३ महिना कैद

घरमा सहयोगीको रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले ५ वर्ष ३ महिना कैदको सजाय सुनाएको छ ।  यसअघि ९ महिना जेल बसिसकेका कोइरालाले अब ४ वर्ष ६ महिना जेल जीवन बिताउनुपर्ने भएको छ ।

आज बहसका लागि कोइरालाको तर्फबाट भीमार्जुन आचार्य, सुनिल पोखरेल,रञ्जितभक्त प्रधानाङ्ग,ऋषिराम घिमिरेलगायतका कानुन व्यवसायीहरु उच्च अदालत पाटन पुगेका थिए । सरकारी वकिल भने एक्लै थिए ।

त्यसपछि अदालतका न्यायाधीशद्वय अच्युत बिस्ट र डा.नवराज थपलियाको इजलासले उक्त कैद आदेश दिएको हो ।

यसअघि २०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेता पनि जिल्लाको उक्त फैसला उच्चमा पुगेपछि उल्टिएको हो ।

नयाँ जारी फौजदारी कार्यविधि संहिताअनुसार एक महिनाभित्र कोइरालालाई कति वर्ष जेल पठाउने भन्नेबारे टुंगो लगाउनुपर्ने हुँदा सजायँ यकिन गर्न गत १२ गतेको इजलासले बैशाख २७ गतेलाई अर्को पेशी तोकेको थियो ।

सोहिबमोजिम कोइरालालाई ५ वर्ष ३ महिनाको कैद तोकेर जेल पठाउने आदेश भएको हो ।

टिप्पणीहरू