माधव खेमा यसरी पो अनुपस्थित भएछ

माधव खेमा यसरी पो अनुपस्थित भएछ

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजको संसद बैठकमा अनुपस्थित हुने र प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगर्ने निर्णय गरेपछि पनि पार्टी एकता जोगाउने भन्दै छलफल र भेटघाट भइरहेका छन् ।

एमाले नेताहरू घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण बिष्टको अर्थमन्त्री विष्णु पौडेलसङ्ग पार्टी एकता जोगाउन अन्तिम क्षणको वार्ता भर्खर सकिएको छ ।

उता,आजको बैठकमा नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सबै सांसद अनुपस्थित हुने पक्का भएको छ । दुबैगरी झण्डै तीन दर्जन सांसद अनुपस्थित हुने बताइएको छ ।

प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा नेपाल समूहका केही सांसदलाई भने स्वविवेकीय रुपमा निर्णय गर्न छुट दिइएको छ । तर, लिडरसीपमा रहेका सबै सांसद भने दृढताका साथ प्रस्तावको विपक्षमा रहनेछन् । त्यसो गर्दा सांसदहरू माया ज्ञवाली, विष्णु केसी पौडेल,गंगा चौधरीको हकमा परिस्थितिजन्य उपजको रुपमा आफूहरू लचिलो हुने निर्णय गरिएको छ ।

दलभित्रको आन्तरिक लडाईंलाई प्रधानमन्त्रीले बेवास्ता गरेपछि उक्त विवाद संसदभित्र पुगेको माधव खेमाको निचोड छ । समग्रमा भिन्नमत राख्ने सबैलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले हेर्ने र गर्ने व्यवहार एउटै भएकाले नेपाल समूहका सबै सांसदले आज सामूहिक निर्णय गरेको बताइएको छ ।

उनीहरूको तर्क छ ‘राजीनामा दिँदा सबैतिरबाट प्रहार हुने, राजनीतिक मूल्य र मान्यताको प्रसंगसमेत आउने भएकाले पार्टीको ह्विप नमान्ने निर्णय मात्र गरिएको हो । यसो गर्दा उक्त विषय पार्टीभित्र सीमित हुनेछ । भोलिको पार्टी राजनीतिलाई कसरी अघि बढाउने भन्नेसम्बन्धमा अब बल अध्यक्षको कोर्टमा पुगेको छ ।’

यता,विश्वासको मत नपाएपछि काँग्रेस,माओवादी केन्द्र र जसपा एकजुट भएको अवस्थामा विपक्षी गठबन्धनमा भने बहुमत स्पष्ट हुनेछ । तर,आजै साँझ राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान नगरी सोझै ७६ (३) बमोजिम ठूलो दलको नाताले केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने सम्भावना अत्यधिक देखिएको बताइन्छ ।

विपक्षीहरूले भनेका छन् ‘धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गर्नैपर्छ । अन्यथा, त्यसको पनि हामीले उपचार खोज्नेछौं ।’

टिप्पणीहरू