केरलामा वामपन्थीले लगातार बाजी मारे

केरलामा वामपन्थीले लगातार बाजी मारे

भारतीय केही राज्यमा भएका हालैका विधानसभा निर्वाचनमा सत्तारुढ बिजेपीलाई ठूलो धक्का लागेको छ । अघिल्लो वर्षको लोकसभा निर्वाचनमा धेरैजसो राज्यमा ‘क्लिन स्विप’ गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले केरलामा शून्य सीट हात पारेको छ ।

दक्षिण पश्चिम भारतमा अवस्थित केरला त्यहाँको सबैभन्दा शिक्षित राज्य हो । जहाँ बिजेपीले यसपटक पहिलेको एक सिट भए पनि जोगाउन अनेकौं प्रयास गरेको थियो । तर, त्यहि राज्यमा वामपन्थीहरूले सँधै वर्चश्व कायम राखेका छन् । कारण के होला ?

केरलाका एक जना राजनीतिक विश्लेषक भन्छन् ‘कारण केही छैन । सबै देखिने कारण छन् ।’ उनका अनुसार केरलामा पनि सबैभन्दा धेरै हिन्दू मन्दिर छ अनि हिन्दू मतदाता छन् । तर अन्यत्र झैँ त्यहाँका मतदाताले हिन्दुवादी बिजेपीलाई मतदान नगरेर वामपन्थीलाई साथ दिँदै आएका छन् ।

सबैभन्दा धेरै हिन्दू मन्दिर भएको राज्यमा बिजेपीलाई नै पत्ता साफ गराउनुको अर्थ उनीहरू अन्धभक्त होइनन् । शिक्षित भएकाले आफ्नो विवेकको प्रयोग गरेकाले पनि वामपन्थीले लगातार जितेका हुन् ।

यस पटकको निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले पहिलेकोभन्दा चार सिट बढाएर ६२ सिट जितेको छ । त्यसैगरी भारतीय कम्युनिष्ट पार्टीले १७ सिट जितेको छ । उसले पहिले १९ स्थानमा जितेको थियो । भारतीय एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीले १५ सिट हात पारेको छ । पहिले उसको १८ सिट थियो । त्यस्तै अर्को केरला कम्युनिष्ट पार्टीले पनि ५ सिट जितेको छ ।

भारतीय काँग्रेस पहिलेको २२ सिटबाट घटेर २१ मा सीमित भएको छ । तर,भारतीय जनता पार्टीले अघिल्लो चुनावमा जितेको एक सिट पनि गुमाएर शून्य भएको छ । १ सय ४० सदस्यीय विधान सभामा बहुमतको लागि ७१ सिट चाहिन्छ । तर, तीन वटा कम्युनिष्ट पार्टीको कूल सिट ९९ हुन आउँछ, जुन दुई तिहाई भन्दा बढी हो ।

यसपटकको निर्वाचनमा केरलाको मुख्यमन्त्रीको रुपमा चित्रित बिजेपी नेता श्रीधरनसमेत पराजित भएका छन् । उनी पेशाले इञ्जिनियर हुन् । मेट्रो म्यानको नामले समेत परिचित उनलाई काँग्रेसका उम्मेदवारले हराएका थिए ।

त्यसैगरी बिजेपीका केरला प्रदेश अध्यक्ष चुनावमा दुई ठाउँबाट उठेका थिए । उनी पनि दुबै ठाउँबाट पराजित भएका छन् । हिन्दूको प्रचार गर्दै आएको बिजेपी हिन्दू बाहुल्य केरलाबाट पत्तासाफ भएको छ । तर, धर्मलाई राजनीतिसँग नजोडी शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान दिएको कारण केरलामा दशकौंदेखि वामपन्थीहरूले जनताको माया र साथ पाइरहेको बताइन्छ ।

टिप्पणीहरू