बोल्ने बूढानीलकण्ठतिर किन कुद्दै छ बथान ?

बोल्ने बूढानीलकण्ठतिर किन कुद्दै छ बथान ?

आपतमा परेपछि सहयोग खोज्नु मानवीय स्वभाव हो,जस्तोसुकै शक्तिशाली भएपनि दु:खमा कसै न कसैको साथ खोजिएको हुन्छ । झन्डै दुई तिहाई मतसहितको सरकार र शक्तिशाली कम्युनिष्ट पार्टी चकनाचुर भएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार जोगाउन विपक्षीको सहयोग खोज्दै दैलो चाहार्नुपर्ने अवस्था आइलागेको छ ।

अल्पमतमा परेपछि आगामी बैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गर्नुभएका प्रधानमन्त्री ओली हिजो दलबलसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमा पुग्नुभयो । बालुवाटारबाटै देश र पार्टीको सत्ता चलाइरहनु भएका प्रधानमन्त्री एकाएक देउवा निवास बूढानिलकण्ठ पुग्नुको कारण हो- काँग्रेससँग विश्वासको मत माग्नु ।

आफ्नै पार्टी र सत्ता सहयात्री दललाई विश्वासमा लिन नसकिरहेका बेला विश्वासको मत माग्दै विपक्षी दलका नेताको दैलोमा पुग्नुले प्रधानमन्त्री ओलीलाई आइलागेको संकटको अनुमान लगाउन सकिन्छ । बूढानिलकण्ठ पुगेर आफ्नो सत्ता संकटको मोचक बनिदिन काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीले आग्रह गरेको कुरा आइसकेको छ ।

‘घर छ दक्षिणतिर,साथीहरू एयरपोर्टबाट झरेर सीधै उत्तरतिर बूढानीलकण्ठ पुग्नुभएछ । संकट परेको बेला सुतेका बूढानीलकण्ठ गए होलान् भनेको त बोल्ने बूढानीलकण्ठ पो गएका रहेछन्, त्यो पनि प्रधानमन्त्री भइदिनुस् न भन्दै ।’

प्रचण्ड र माधव नेपालले सरकार ढाल्न खोजेर वामपन्थी जनमतको उपेक्षा गरेको आरोप लगाउँदै आउनुभएका प्रधानमन्त्री ओली अन्ततः आफैँ सहयोगको झोली थाप्दै देउवाको आँगनमा उत्रिएपछि उहाँको विगतको एउटा अभिव्यक्ति अहिले चर्चामा छ ।

‘घर छ दक्षिणतिर,साथीहरू एयरपोर्टबाट झरेर सीधै उत्तरतिर बूढानीलकण्ठ पुग्नुभएछ । संकट परेको बेला सुतेका बूढानीलकण्ठ गए होलान् भनेको त बोल्ने बूढानीलकण्ठ पो गएका रहेछन्, त्यो पनि प्रधानमन्त्री भइदिनुस् न भन्दै ।’

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टीका बरिष्ठ नेता माधव नेपालमाथि कटाक्ष गर्दै दिनुभएको अभिव्यक्ति हो यो ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा होमिएको तत्कालीन नेकपाका दुई नेता प्रचण्ड र नेपाल आन्दोलनकै दौरान चितवनमा हुनुहुन्थ्यो । त्यतिबेलै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन बदरको फैसला गर्यो । सर्वोच्चले ओलीको कदम असंवैधानिक भनेर उल्ट्याएपछि प्रधानमन्त्रीले राजीनामा दिने प्रचण्ड र नेपालको अपेक्षा थियो । तर,त्यसो भएन । ओलीले राजिनामा दिनुभएन,बरु हटाएर देखाउन चुनौति दिनुभयो ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गर्दै आउनुभएका प्रचण्ड र नेपाल चितवनबाट काठमाडौँ फर्किनुभएका दुई नेता विमानस्थलबाट सीधै देउवा निवास जानुभयो । त्यहि प्रसंगलाई प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व बुझाउन देउवाको दैलोमा प्रचण्ड र नेपाल लाइन लागेर पुगेको कटाक्ष गर्नुभएको हो ।

त्यसयता पनि ओलीले वामपन्थी सरकार ढालेर काँग्रेसलाई किस्तीमा राखी सरकारको नेतृत्व बुझाउन गएको आरोप लगाइरहनु भएको छ । कम्युनिष्ट एकता मासेर,दुई तिहाइ मत धुजाधुजा पारेर कम्युनिष्ट नेताहरु पटक-पटक देउवाको आँगनमा पुगेको देखिएको छ ।

प्रचण्ड र नेपालले किस्तीमा राखेर सरकारको नेतृत्व देउवालाई बुझाउन खोजेको आरोप लगाउनु भएका प्रधानमन्त्री ओलीलाई पनि संकट परेपछि ‘बोल्ने बूढानिलकण्ठ”सम्म पुर्याएको हो । अस्तिको भेटमा ओलीले काँग्रेससँग विश्वासको मत माग्नुभएको खुलिसकेको छ ।

काँग्रेसका एक नेताका अनुसार सो भेटमा ओलीले अर्ली इलेक्सनमा जोड दिँदै काँग्रेसलाई फाइदा हुने बताउनुभएको थियो । ‘विश्वासको मत माग्नु एउटा औपचारिकता होला,मुख्य कुरा चैं उहाँले अर्ली इलेक्सनमा जोड दिनुभएको थियो । चुनाव हुँदा काँग्रेसलाई नै फाइदा हुने भएकाले मिलेर जाऊँ भन्ने उहाँको प्रस्ताव थियो’,ती नेताले भने ।

अलि अगाडिसम्म चुनावमा जान हौसिनुभएका सभापति देउवा लुम्बिनी प्रकरणपछि ओलीले गराउने चुनावमा जान नहुने निष्कर्षमा पुगेकाले ओलीलाई नो भनेर पठाउनु भएको बताइन्छ ।

टिप्पणीहरू