सबै पन्छिएपछि सेनालाई सास्ती

सबै पन्छिएपछि सेनालाई सास्ती

कोरोना संक्रमितको उपचारदेखि लाश व्यवस्थापनसम्मका काममा खटिएको नेपाली सेनाले महामारीविरुद्ध जुध्न सरकारले सबैतिर प्रभावकारी नीति लिनुपर्नेमा जोड दिएको छ ।

राज्यका सबै संयन्त्र परिचालन गरेर महामारीविरुद्ध लड्नुपर्नेमा आफूलाई मात्र पेलिएको उसको गुनासो छ ।

“सरकार ५८ प्रतिशत आइसीयु खाली छ भन्छ, अस्पतालमा बुझ्दा कतै ठाउँ छैन”

आइसोलेसन निर्माण, हस्पिटलहरुको निरीक्षण,लाश व्यवस्थापनको जिम्मा पाएको सेनालाई ग्यास उद्योगहरुको समेत निरीक्षण गर्न भनिएको छ । ‘जहाँ-जहाँ समस्या पर्यो त्यहाँको जिम्मा दिने तर सोअनुसार स्रोत र साधनको व्यवस्थापन नगर्दा सेनालाई बोझ परेकै छ ।

महामारीका बेला हामी यसलाई बोझ मानेर पन्छिने कुरा त गर्दैनौँ । तर सेनालाई मात्र सबैतिरको जिम्मा दिँदा कार्यसम्पादन सोचेजस्तो नहुने चिन्ता हो’, सैनिक स्रोतले भन्यो ।

सुको पैसाको समन्वय छैन हजार बेडको हस्पिटल कसरी बन्छ कुन्नि ?

बोर्डरको चेकजाँचमा पनि सेनालाई खटाउने तयारी गरिएको भन्दै स्रोतले अगाडि भन्यो, ‘सेनाबाहेक अरु केही छैन जस्तो । यस्तो संकटको घडीमा अरु संयन्त्रले काम गर्नु पर्दैन ?’

सरकारले ५८ प्रतिशत आइसीयू खालि छ भनेर गलत तथ्यांक दिएको उक्त स्रोतको आरोप छ । सरकारले सही तथ्यांक नदिँदा पनि काम गर्न अप्ठेरो परेको तर्क गर्दै स्रोत भन्छ,’सरकार ५८ प्रतिशत आइसीयु खाली छ भन्छ, अस्पतालमा बुझ्दा कतै ठाउँ छैन । यसले पनि हामीलाई काम गर्न अप्ठेरो पारेको छ ।’

संकटको घडीमा सबै जिम्मेवार बन्नुपर्ने सेनाको आग्रह छ । सरकारले जिम्मेवारीपूर्वक नेतृत्व गर्दा अरुबाट सहयोगी बनेर सामूहिक प्रयास भैदिए कोभिडविरुद्ध लड्न समस्या नहुने उसको सुझाव छ ।

सेनालाई सरकारले अर्हाएको काम गर्न अप्ठेरो नभए पनि स्रोत व्यवस्थापन गरिदिनुपर्ने उसको माग छ । यसअघि भक्तपुरमा आइसोलेशन बनाउँदा उधारोमा काम गरेको र वर्षौँसम्म तिर्न नसकेको तीतो अनुभव सेनासँग छ । ‘बजारमा उधारो राखेरसमेत काम गरिएको छ । खरिपाटीको शुरुको आइसोलेशन उधारोमै बनाएको हो । पछि सल्ट्याउनै एक वर्षभन्दा बढी लाग्यो’,स्रोत भन्छ ।

“टोपबहादुरजस्ता पहुँचवाला मन्त्रीले त सैनिक अस्पतालको भीआइपी क्याबिनमा उपचार पाइरहेकै छन्,निर्धा,निमुखाको भने जताततै बिचल्ली छ । “

स्रोत,साधन र जनशक्तिले भ्याउँदासम्म सेनाले कहिल्यै पनि काम गर्न अप्ठेरो नमानेको उसको दाबी छ । ‘सेनाको नो भन्ने चलन छैन,अब यस्तै हो भने नाइँ भन्नुपर्ने हुनसक्छ’,सैनिक स्रोतले भन्यो । सेनाले अहिले पनि छाउनीमा कोभिडका बिरामीको लागि १०० भन्दा बढी बेड संचालन गरिरहेको बताइएको छ ।

अहिले फेरि पचास प्रतिशत छुट्याऊ भनिएकोले समस्या छ । टोपबहादुरजस्ता पहुँचवाला मन्त्रीले त सैनिक अस्पतालको भीआइपी क्याबिनमा उपचार पाइरहेकै छन्,निर्धा,निमुखाको भने जताततै बिचल्ली छ ।

फौजमै पनि संक्रमितको संख्या लगातार बढ्न थालेपछि बाहिरी सम्पर्क घटाउन सेना सतर्क बनेको बताइन्छ । अहिले दैनिक ५० देखि ६० जनाको संख्यामा सैनिकहरु संक्रमित भैरहेको सेनाले बताएको छ । सेनाभित्रै संक्रमण बढ्न थालेपछि बाह्य गतिविधिमा खुम्च्याइदिए हुन्थ्यो भन्ने सेनाको अपेक्षा देखिन्छ ।

‘हाम्रो आन्तरिक समस्या त छँदैछ साथसाथै आइसोलेसन कुर्नुपर्ने, ग्यास उधोग हेर्नुपर्ने,बोर्डरमा चेक गर्नुपर्ने,अस्पतालले गरेका बदमासी हेर्नुपर्ने,बिरामीलाई बेड मिलाइदिनुपर्ने,लाश व्यवस्थापन गर्नुपर्ने सबै जिम्मा एउटा संयन्त्रलाई दिँदा काम प्रभावकारी नहुन सक्छ’,सैनिक स्रोत भन्छ, ‘बरु राज्यका अरु सबै मेकानिजमलाई प्रयोग गर्न सके काम पनि राम्रो हुन्थ्यो होला कि ! ‘

टिप्पणीहरू