धौलागिरी अस्पतालमा दुई जनाको मृत्यु

धौलागिरी अस्पतालमा दुई जनाको मृत्यु

-राजेशचन्द्र राजभण्डारी
काेराेना भाइरस काेभिड १९ काे दाेस्राे चरणको लहर भित्रिएपछि काेराेनाकाे नयाँ भेरिएन्टबाट
धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ । एक जना कोरोना संक्रमित र एकजना शंकास्पद युवककाे मृत्यु भएको हो ।

बागलुङ नगरपालिका–४ का ७८ बर्षीय पुरुषको बिहिबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २० गते श्वास प्रश्वासमा समस्या भएर अस्पताल पुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा मधुमेह,उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले  बताए ।

स्वास प्रश्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएका म्याग्दीको बेनी नगरपालिका–१ का ३३ बर्षीय पुरुषको बुधबार राती नै मृत्यु भएको छ । उनलाई सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो ।

अक्सिजनको मात्रा निकै कम पुगिसकेको अवस्थामा अस्पताल पुगेका उनको पीसीआर जाँचका लागि थ्रोट स्वाब लिनसमेत नभ्याईएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

बागलुङ जिल्लामा काेराेना संक्रमित बिरामी दिनमै ४ दर्जनभन्दा बढी पुगिरहेकाे अवस्थामा सदरमुकाममा प्रशासनले नाममात्रको निषेधाज्ञा जारी गरेर जिम्मेवारीबाट पन्छिने काम गरेको भन्दै जिल्लावासी आक्राेशित छन् ।

बागलुङ बजारका फलफूल तथा किनारा पसल बिहान १० बजेसम्म खुलाउन अनुमति दिइएको छ भने बैंक तथा बित्तीय संस्था १ बजेसम्म खुला हुँदा काेराेना संक्रमण समुदायस्तरमा पुगिसकेको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

टिप्पणीहरू