बूढानिलकण्ठ भेटका भित्री कुरा

बूढानिलकण्ठ भेटका भित्री कुरा

प्रमुख प्रतिपक्षीसँग विश्वासको मत माग्न जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसले ‘धन्यवाद’ भनेर बिदा गरेको छ ।

संसदमा विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रतिपक्षी काँग्रेसको साथ माग्दै सभापति शेरबहादुर देउवा निवास पुग्नुभएको थियो ।

“केपीजी,अर्को कुरा चैं एम्बुलेन्स र हस्पिटल मिलाउन नेतालाई भन्दाभन्दै सर्वसाधारण मर्नुपर्ने अवस्था आएको छ । सत्ताको चलखेलमा हैन जनताको उपचारमा ध्यान दिनुस्'”

बूढानिलकण्ठ स्रोतका अनुसार देउवाले विपक्षी पार्टीले सत्तापक्षलाई विश्वासको मत दिन नमिल्ने जवाफ दिएपछि प्रधानमन्त्रीसहितको टोली नाडी छामेर फर्किएको थियो । ‘तपाईं औपचारिकताका लागि आउनुभो, त्यसका निम्ति धन्यवाद । काँग्रेस अपोजिसन पार्टी हो । अपोजिसन पार्टीले सत्तापक्षलाई विश्वासको मत दिंदैन’,देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

देउवाको जवाफपछि प्रधानमन्त्री ओलीले डेढ वर्षभित्रमा चुनाव गराउने भन्दै साथ दिन पुन: आग्रह गर्नुभएको थियो । ‘हामी आन्दोलनका सहयात्री पनि हौँ, ढिलोमा डेड वर्षमा चुनाव गराउँछु, साथ् दिनुस्’,ओलीले आश्वस्त पार्ने प्रयास गर्दै भन्नुभएको थियो ।

अर्ली चुनाव गराउने ओलीको भनाइको बरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण सिटौलालगायतका नेताहरुले प्रतिवाद गरेको स्रोतले बतायो । तपाईंले गराउने चुनाव निष्पक्ष,स्वतन्त्र र भयरहित हुने ग्यारेन्टी के भनेर नेताहरुले प्रश्न सोधेपछि ‘ठीकै छ’ भन्दै प्रधानमन्त्रीसहितको टोली निस्केको थियो ।

प्रधानमन्त्री निस्किन लागेपछि देउवाले ‘एकछिन’ भन्दै सत्ताको दाउपेचमा नलागी कोभिडको उपचारमा केन्द्रित हुन सुझाव दिनुभएको थियो । ‘केपीजी,अर्को कुरा चैं एम्बुलेन्स र हस्पिटल मिलाउन नेतालाई भन्दाभन्दै सर्वसाधारण मर्नुपर्ने अवस्था आएको छ । सत्ताको चलखेलमा हैन जनताको उपचारमा ध्यान दिनुस्’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उठेरै देउवाको कुरा सुन्नुभएका प्रधानमन्त्री ओलीले ‘हुन्छ म गर्छु’ भन्दै निस्कनुभएको थियो ।

टिप्पणीहरू