सरकारी गाडी अड्डामा,मरणासन्न बिरामी ट्र्याक्टरमा

सरकारी गाडी अड्डामा,मरणासन्न बिरामी ट्र्याक्टरमा

नगरपालिकाको लापरबाहीबाट एक जना संक्रमितको ज्यान गएको विषयलाई लिएर हिजो नवलपरासीको देवचुली नगरपालिकामा तनाव सिर्जना भएको छ ।

कोभिड–१९ संक्रमित बिरामीलाई पहिले मोटरसाइकलमा र त्यसपछि स्ट्रेचरमा बोकेर अस्पताल लैजान खोजिएको जानकारी गराउँदा पनि नगरपालिकाबाट सहयोग नपाएपछि ट्रयाक्टरमा राखेर अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरिदिएका थिए ।

त्यसपछि जनता समाजवादी पार्टीका केही कार्यकर्ताले नगरपालिकामा तालाबन्दी गरिदिए । कारण थियो संक्रमितको मृत्यु र नगरपालिकाको कम्पाउण्डमा रोकिएको प्रमुख प्रशासकीय अधिकृतको सेतो प्लेटको गाडी ।

नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउन नसके पनि प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी के को लागि ? भन्दै आक्रोश पोखेका उनीहरुले दिनभर नगरपालिकाको कार्य ठप्प पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसबारे सोध्दा नगर प्रमुख पूर्णकुमार श्रेष्ठले दमको रोगी रहेका मृतकमा संक्रमण भएको आफूहरुलाई यसअघि जानकारी नभएको बताएका छन् । उनले सिकिस्त अवस्थामा रहेका मृतकलाई ट्रयाक्टरमा राखेर अस्पताल पुर्याएको भन्दै नगरपालिकाविरुद्ध भाइरल बनाउन खोजिएको बताएका छन् । उनले पूर्वाग्रही तरिकाले आफूहरुबिरुद्ध माहौल बनाउन ट्रयाक्टरको प्रयोग गरिएको भिडियो छरपष्ट पारिएको बताएका छन् ।

नगरपालिकाले जानाजान एम्बुलेन्स उपलब्ध नगराएको प्रष्ट पार्दै उनले भने ‘संक्रमितलाई अस्पताल लैजाने क्रममा नगरपालिकामा कुनै पनि सवारीसाधन थिएन । हामीले छिमेकीमार्फत् दम रोग लागेको र त्यसमा संक्रमण थपिएको जानकारी पाएका हौं । एम्बुलेन्सले समेत कोरोनाको बिरामी भन्ने थाहा पाएपछि वीच बाटोबाटै फर्किएको हो ।’

यस्तै एम्बुलेन्स किन फर्कियो भन्ने सम्बन्धमा वडा नं. १३ का अध्यक्षको पनि जवाफ उस्तै छ । नगरपालिकाको एम्बुलेन्स पोखरा गएको बताउँदै वडा नं. १५ को नारायणी टोल सुधार समितिले सञ्चालनमा ल्याएको एम्बुलेन्सका चालकले कोरोनाको बिरामी नबोक्न आफूलाई आदेश दिइएको भन्ने सुनेपछि फर्किएको वडाध्यक्ष लीबहादुर खत्रीले बताए ।

टिप्पणीहरू