घरमै बस्न स्वास्थ्यकर्मीको अपिल (भिडियो सहित )

घरमै बस्न स्वास्थ्यकर्मीको अपिल (भिडियो सहित )

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्णपालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका हुन् ।

संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने बताउनुभयो ।

अहिले देशभरका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार दैनिक ७ हजारभन्दा बढी संक्रमित र ३० जनाभन्दा बढीको मृत्यु भइरहेको छ ।

कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारणसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार धमाधम संक्रमित हुन थालेका छन् ।

टिप्पणीहरू