निषेधाज्ञामा पनि उपत्यका छिर्नेको ताँती,१ हजार बढी सवारी होल्डमा

निषेधाज्ञामा पनि उपत्यका छिर्नेको ताँती,१ हजार बढी सवारी होल्डमा

कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सरकारले बैशाख मसान्तसम्म उपत्यकालगायतका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको बेला पनि उपत्यकामा सवारी साधनको चाप देखिएपछि आइतबारदेखि थप कडाइ गर्न थालिएको छ ।

सडकमा सवारी साधनको चाप बढेपछि स्थानीय प्रशासनले आजदेखि थप कडाइ गर्ने भने पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । आज पनि निषेधाज्ञा उल्लङ्घन गरी सडकमा निस्किएका सवारीसाधन कारबाहीमा परेका छन् । दिउँसो १ बजेसम्म निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ५८ सवारीसाधनलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै,निषेधाज्ञाको समयमा पनि उपत्यका भित्रिने सवारी साधनको संख्यासमेत लगातार बढिरहेको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार निषेधाज्ञाको चौथो दिन आज दिउँसोसम्म उपत्यका प्रवेश गर्ने र छाड्नेको संख्या उस्तै छ ।

आज ४ हजार ४ सय ६६ वटा सवारीसाधन उपत्यका भित्रिँदा ४ हजार ८ सय ९५ वटा बाहिरिएका छन् । त्यस्तै १० हजार २ सय ३१ जना आज दिउँसो १ बजेसम्ममा काठमाडौँ प्रवेश गरेका छन् भने सोही अवधिमा १५ हजार २ सय ७१ जनाले उपत्यका छाडेका छन् ।
उपत्यका भित्रिने र बाहिरिनेमा सरकारी नम्बर प्लेटका सवारी साधन पनि उल्लेख्य छन् । निषेधाज्ञामा अत्यावश्यक सवारीसाधन मात्र गुड्न दिने र त्यसको एक चौथाई सरकारी सवारी साधन चल्न पाउने निर्णय गरिएको छ । तर,सडकमा सरकारी नम्बर प्लेटका सवारी साधन प्रशस्त गुडेका छन् ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेसम्म सरकारी नम्बर प्लेटका २ सय ६४ वटा दुई पाङ्ग्रे, २ सय ३४ वटा साना चार पाङ्ग्रे र ६० वटा ठूला सवारी साधन उपत्यका आउजाउ गरेका छन् ।

टिप्पणीहरू