राष्ट्र बैंकका चौथाई कर्मचारीमा कोरोना

राष्ट्र बैंकका चौथाई कर्मचारीमा कोरोना

कोरोना संक्रमणको दोस्रो लहरको हट स्पट बनेको नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंक कार्यालयका १० जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

प्राप्त जानकारीअनुसार ४२ जना कर्मचारी रहेको कार्यालयमा १० जनालाई कोरोना भएको हो । बैंकका निर्देशकलाई कोरोना नदेखिए पनि उनीभन्दा मुनिका दुई जना उपनिर्देशकलाई छोएको त्यहिँका कर्मचारीले बताएका छन् । अन्य तहका धेरै कर्मचारीलाई कोरोना देखिएपछि बैंकको दैनिक गतिविधि नै प्रभावित हुनसक्ने बताइएको छ ।

स्रोतका अनुसार एक जना उपनिर्देशक र एक जना सहायक निर्देशकले एक सातादेखि विसञ्चो हुँदाहुँदै पनि कार्यालयमा हाजिर भएका कारण अरु संक्रमित भएका हुन् । उनी भन्छन् ‘सिटामोल खाँदै, हाच्छिउँ गर्दै बैंकमा आए । पढेका ती कर्मचारीले नै पीसीआर गर्न मानेनन्, अरु कर्मचारीलाई पनि सारिदिएपछि शुक्रबार गरेको पीसीआरमा सबै जनामा संक्रमण पुष्टि भयो ।’

दुई साताअघि गभर्नर अधिकारी त्यहिँको बागेश्वरी मन्दिरमा क्युआर कोडको उद्घाटन गर्न जाँदा कार्यालयको गेष्ट हाउसमा दुई रात बिताएका थिए ।

त्यसअघि बालुवाटारबाट रारा घुम्न गएका तीन जना महिला कर्मचारी जाँदा र फर्कंदा बैंक गेष्ट हाउसको भीभीआईपी रुम र बेड सेयर गरेका कारण तीनै जना संक्रमित भएका थिए । गभर्नर अधिकारी भने काठमाडौं फर्केपछि दुई दिन होम आइसोलेसनमा बसे ।

टिप्पणीहरू