भोलिदेखि काठमाडौंमा थप कडाई

भोलिदेखि काठमाडौंमा थप कडाई

अस्ति बिहिबारदेखि लकडाउन गरिए पनि सडकमा जाम हुने गरी राता नम्बर प्लेट र सेता नम्बर प्लेटका सवारी साधन गुड्न थालेपछि भोलिदेखि निषेधाज्ञा थप कडाई गर्न लागिएको छ ।

शुक्रवार नै सीसीएमसीको बैठकले बैंकले एक चौथाई र सरकारी कार्यालयहरुले एक तिहाई कर्मचारीमात्र राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

रातो नम्बर प्लेटका साथै सेतो र पहेलो प्लेटका गाडीसमेत सडक जाम हुने गरी निस्किएपछि भोलिदेखि त्यसमा कडाई गर्न लागिएको हो । जसअनुसार,सरकारी कार्यालयले चलाउने सवारी साधनको कोटा निर्धारण गरिएको छ ।

सरकारी कार्यालयअन्तरगत मन्त्रालय,विभाग र कार्यालयले चलाउने सवारीमा निश्चित कोटा तोकिएको छ । भोलिदेखि मन्त्रालयले १० वटा, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी साधन चलाउन पाउनेछन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कथन छ ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय टुंग्याइने पराजुलीले सुनाए । आज आफैं निषेधाज्ञाको अनुगमनमा निस्किएको पराजुलीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

टोलीमा प्रजिअ पराजुलीसहित,काठमाडौंका मेयर विद्यासुन्दर शाक्य,नेपाल प्रहरीका सुरक्षा अधिकारी र सशस्त्र प्रहरी सहभागी थिए । बैंक तथा वित्तीय संस्था,सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने लागिएको सीडीओ पराजुलीले सुनाए ।

टिप्पणीहरू