स्वयंसेवक बन्न विप्लव तयार

स्वयंसेवक बन्न विप्लव तयार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारीविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । आज विज्ञप्ति जारी नेकपाले महामारीसँग जुध्न सामाजिक परिचालन अभियान शुरु गर्न भनेको हो ।

पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा आवश्यक परे आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताइएको छ ।

‘महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रुपमा सरकारले स्वयंसेवकहरु परिचालन गर्ने व्यवस्था मिलाउन आवश्यक हुन्छ । सामाजिक अभियान सञ्चालन गरे हाम्रो पार्टीले सहयोग गर्न तयार रहेको अवगत गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीले मुलुक फेरी आक्रान्त भएको भन्दै विज्ञप्तिमा बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको उल्लेख छ । सरकारले महामारीसँग जुध्न गरेको बन्दाबन्दीलगायतका अभियान पर्याप्त नभएको नेकपाको भनाई छ ।

विज्ञप्तिमा संक्रमण नियन्त्रणका लागि भारतलगायतका विदेशबाट आउने आप्रवासीहरु नियन्त्रण गर्ने, आएकालाई आइसोलेशनमा राख्ने र विरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

नेकपाले सरोकारवाला र आमजनतालाई पनि स्वयंसेवकका रुपमा परिचालित हुन भनेको छ । ‘पार्टीका सबै समितिहरु, विभिन्नस्तरका नेता–कार्यकर्ता, वुद्धिजिवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा सरकारको मात्र भर नपरी महामारीसँग जुध्न होशियारीपूर्वक सामाजिकस्तरमा स्वयंसेवकका रुपमा परिचालित हुन् र सहयोग गर्न अपिल गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू