चार दुर्घटना,चारै जनाको मृत्यु

चार दुर्घटना,चारै जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । काठमाडौँ, रुपन्देही,रौतहट र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ती सबैको ज्यान गएको हो ।

प्रहरीका अनुसार काठमाडौंको कलंकीमा बा६१प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–१०, बाघभैरवका राजमान महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै,रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३, ठूलो पडरियामा भारतीय नम्बरप्लेटको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । युपी५५एसी २६९२ नम्बरको मोटरसाइकलले लु५५प ९५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई रोकी राखेको लु३त ५२८५ नम्बरको ट्याक्टरमा ठोक्किएर बुधबार दिउँसो भारत घर भएका २६ वर्षीय छोटे श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता,रौतहटको राजपुरमा मोटरसाइकल सडकबाट खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजपुर नगरपालिका–३ आजाद चोकमा ना २३प ७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १६ फिट तल खसेर बुधबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाराको बारागढी नगरपालिका–१, भवानीपुरका ४० वर्षीय प्रेमलाल पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भवानीपुरका दिपलाल पासवानको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, वीरगञ्जमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२६, अठराहास्थित सडकमा बा४च २१२० नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री वीरगञ्जस्थित सुगौली बिर्ताका ४० वर्षीय मक्सुद आलमको बुधबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू