निषेधाज्ञामा अनलाइनबाटै मार्सी चामल

निषेधाज्ञामा अनलाइनबाटै मार्सी चामल

निषेधाज्ञाको समयमा खाद्यान्न अभाव नहुने भएको छ । निषेधाज्ञाको समयमा बिचौलियाले खाद्यान्नको कृत्रिम संकट श्रृजना गरि मूल्य बढाउने आशंका गरिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न सञ्चिति पर्याप्त रहेको बताएको छ । कम्पनीले निषेधाज्ञा अवधिभर खाद्य संकट नहुने प्रष्ट पार्दै सहज ढंगले बिक्री वितरणको व्यवस्थासमेत मिलाएको छ ।

निषेधाज्ञाका बेला उपोभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राखी खाद्यान्न बिक्री वितरणलाई सहज बनाएको कम्पनीले जनाएको छ । कम्पनीले उपत्यकाका चार वटा बिक्री केन्द्र रामशाह पथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट खाद्यान्न बिक्री गर्ने छ ।रामशाहपथ र सूर्यबिनायक बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म खाद्यान्न बिक्री गरिने छ भने नख्खुबाट बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म बिक्री गरिने कम्पनीले जनाएको छ । यस्तै, थापाथलीमा रहेको प्रादेशिक बिक्री केन्द्रबाट भने तीन सिफ्टमा खाद्यान्न बिक्री गरिने छ । बिहान ७ देखि १० बजेसम्म पहिलो सिफ्ट, १० देखि ५ बजेसम्म दोस्रो र बेलुकी ५ बजेदेखि ७ बजेसम्म तेस्रो सिफ्टमा सेवा दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिक्री कक्षबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्युलगायतका खाद्य सामाग्री तथा स्यानिटाईजर बिक्री गरिने छ ।

यस्तै, कोभिड महामारीको असहजतालाई ध्यानमा राखेर कम्पनीले उपभोक्तालाई अनलाइनमार्फत सेवा दिने जनाएको छ । कम्पनीको अनलाइन पोर्टल नेपालफुड डट जीओभी डट एनपी मार्फत चक्रपथभित्र र सस्तोडिल डट कमले उपत्यकाभर निःशुल्क डेलिभरी सेवा दिने कम्पनीले जनाएको छ । कम्पनीले दुवै सेवाको प्रयोग गर्न आमउपभोक्तालाई आग्रह गरेको छ ।

देशभर आवश्यक परिमाणमा खाद्यान्न सञ्चिति रहेकाले खाद्य वस्तुहरू नै अभाव हुनेगरी चाहिने भन्दाबढी सञ्चित नगर्न कम्पनीले उपभोक्तालाई अनुरोध गरेको छ ।

टिप्पणीहरू