टाउकाको ओखती नाइटोमा

टाउकाको ओखती नाइटोमा

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) उदयपुरले कोरोनाको कहरलाई रोक्न झारा टार्ने निर्णय गरेर चित्त बुझाएको छ । आज बसेको बैठकले संघीय सरकारले बैशाख १३ गते दिएको निर्देशनबमोजिम शैक्षिक संस्था बन्द गर्दै वैकल्पिक माध्यमबाट अध्यापन गराउने भनी झारा टरुवा निर्णय गरेको हो ।

त्यसैगरी जिल्लाभित्रका शंकास्पद बिरामीको स्वाब परिक्षण र एन्टीजेन टेष्ट गर्न जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय तथा प्राविधिक सहयोगमा सबै पालिकाले तत्काल शुरू गर्न कार्यक्रम निर्धारण भएको छ । बैठकले यस्तो परिक्षण सःशुल्क वा निःशुल्क के हुने स्पष्ट खुलाएको देखिँदैन । शंकास्पद बिरामीको उपचारको निम्ति प्रभावकारी कार्यक्रमसमेत छैन ।गत वर्षको कोभिड कहरमा प्रयोग गरिएको कटारी नगरपालिका १, बेलसोतको क्वारेन्टाइन स्थललाई बन्द गरी वैकल्पिक स्थान खोज्ने अर्को निर्णय भएको छ । नयाँ क्वारेन्टाइन स्थल पहिचान गर्न कटारी नगरपालिकासँग समन्वय गर्ने भनिएको छ । जिल्लाका ८ वटा पालिकामध्ये त्रियुगाका प्रमुख बलदेव चौधरी र चौदन्डीगढीका खगेन्द्र राईको मात्रै उपस्थिति रहेको बैठकले गरेका निर्णयको आशय अनुपस्थित अन्यले बुझ्न कठिनाइ हुने देखिन्छ ।

उक्त महत्वपूर्ण बैठकमा निर्णयलाई व्यवहारिक कार्यान्वयन गर्ने पक्षहरूलाई सहभागी गराउन नसक्नु डिसीसीएमसीको कमजोरी हो । बैठकले होम क्वारेन्टाइन र आइसोलेसनलाई प्राथमिकता दिएको छ । यसका लागि जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदी संयोजक र डिएसपी वेदप्रसाद गौतम र प्रशासकीय अधिकृत दिपक दाहाल रहेको स्वास्थ्यलगायतका मापदण्डको कार्यविधि तयार गरिने भएको छ ।

स्मरणीय छ,जिल्लाका सबै पालिकाको अगुवाइमा बनेको बेल्टार कोभिड अस्पतालको प्रभावकारी सञ्चालन गर्ने ठोस निर्णय नहुनु भने आश्चर्यलाग्दो बनेको छ । त्यसैले उक्त बैठकलाई झारा टार्ने भनेर चर्चा शुरू गरिएको छ ।

टिप्पणीहरू