अविश्वास तुहाउन सत्तापक्षबाटै सदन अवरुद्ध

अविश्वास तुहाउन सत्तापक्षबाटै सदन अवरुद्ध

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा हिजो अविश्वासको प्रस्ताव टेबल भै छलफलमा गैसकेको अवस्थामा आज सत्तापक्षकै सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेका छन् ।

आज बैठकको प्रारम्भमै सत्ता पक्षका सांसदहरुले विरोध गरेका थिए । उनीहरुले कोभिड संक्रमण बढेकाले सांसद र कर्मचारीको पीसीआर परीक्षण गरेर मात्र बैठक बस्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

अविश्वास प्रस्ताव आउने सुइँको पाएपछि रातारात हाउस बन्द गरेको गण्डकी प्रदेश सरकारले आफ्नो सत्ता जोगाउन अर्को चाल चालेको विपक्षीहरुले आरोप लगाएका छन् । जसपा संसदीय दलका नेता हरिशरण आचार्यले सरकारले कोभिडको प्रश्न उठाएर आफ्नो सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनुभयो ।

अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको संसद सचिवालयले बताएको छ। ‘१२:४० मा बैठक स्थगित भएको हो। अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। बैठकपछि थप जानकारी दिन सकिन्छ’,सचिवालयले भन्यो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमै रहनुभएका सांसद आचार्यले दुई दिन भनेपनि सत्ता लम्ब्याउन चाहाने सत्तापक्षको चाहनाका कारण बैठक स्थगित भएको बताउनुभयो ।

‘उहाँहरुले कोभिडको प्रश्न उठाएर आफ्नो सत्ता लम्ब्याउन खोज्नुभएको छ । तर,त्यो सम्भव छैन । सरकार आफैंले जिम्मा लिएर सदन चलाउने अनि अहिले आफैं अवरोध गर्ने जुन नौटंकी भएको छ,हामी यसलाई स्वीकार गर्दैनौँ’,उहाँले भन्नुभयो ।

सांसद आचार्यले दुई दिन भने पनि झण्डा हल्लाएर हिंड्ने चाहनाले प्रदेशसभालाई कमजोर बनाउन खोजिएको आरोप लगाउनुभयो । ‘पहिला पनि रातारात संसद अन्त्य गरिएको थियो । हामीले विशेष अधिवेशन बोलाएर अविश्वास प्रस्ताव छलफलमा ल्याईसकेको अवस्थामा अहिले फेरि यसलाई छल्न खोजिंदै छ । कोभिड भने पनि उहाँहरुको चाहना चाहिँ दुई दिन भने पनि झण्डा हल्लाएर हिंड्ने नै देखिन्छ ।’

सांसद आचार्यले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि थप जानकारी दिने पनि बताउनुभयो ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक हुन्छ । एमालेसंग २७ जना छन् । एक जना स्वतन्त्र सांसद दिपक मनाङ्गे सरकारको पक्षमा उभिँदा पनि सरकार जोगाउन मुख्यमन्त्री गुरुङलाई थप ३ सांसद पुग्दैन । त्यहि भएर सत्तापक्षबाटै बैठक अवरुद्ध गरिएको सांसद आचार्यले बताउनुभयो । प्रदेशसभामा काँग्रेसका १५,माओवादी केन्द्रका १२,जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । विपक्षी गठवन्धन प्रष्ट बहुमतमा देखिएको छ ।

टिप्पणीहरू