सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित पिपिराबाट राजदल गणतर्फ जाँदै गरेको बा.१ग ३४८९ नम्बरको मिनी ट्रकको ठक्करबाट पदलयात्रीको ज्यान गएको हो । ट्रकले सोही ठाउँ बस्ने ५० वर्षीया मनिकला सापकोटालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

उता कलैया उपमहानगरपालिका–१२, सितलपुरस्थित सडकमा कलैयाबाट धर्मनगरतर्फ जाँदै गरेको बा.८३ प ८९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहटका २५ वर्षीय कुनालकुमार केशरीको घटनास्थालमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीलाई समेत उपचारको लागि कलैया अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलोस्थित सडकमा ना.३ ख ७६५७ नम्बरको ट्रकमा बा.६६प ९०२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ बस्ने २३ वर्षीय दिपेश नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते नेपालीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक तथा मोटरसाइकल चालक दुबैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू