अहिलेको नेपालमा को कति महान् ?

अहिलेको नेपालमा को कति महान् ?

– लेखनाथ भण्डारी

एकपटक पनि मन्त्री नभएका मदन भण्डारी अहिले सत्तापक्ष र प्रतिपक्ष बनेको नेकपा (एमाले) दुवैका आदर्श हुन् । पार्टी नेतृत्व र नेतृत्वबाहिर पनि मदन भण्डारीको उचाइको अर्को व्यक्तित्व यस पार्टीमा कसैले बनाएको छैन । मदन भण्डारी अनुकूल हुँदा नक्सालबाट साइकल चढेर बागबजार आउजाउ गर्थे भने उनको डेराको बास थियो । एकपटक पनि मन्त्री नभएका, काठमाडौंमा घर नबनाएका र निजी सम्पत्ति वा विलासिताका लागि अकूत सम्पत्ति जोडेको बात नलागेका मदन भण्डारीका अनुयायी कसैले नेपालको राजनीतिमा आफ्नो पहिचान बनाउन सकेका छैनन् । यस सन्दर्भमा मदन भण्डारीको पारिवारिक पाटोको चर्चा अहिले नगरौं ।

पार्टीको कुनै पदीय अर्थात् कार्यकारी हैसियतमा नबसेका र वि.सं. २०४६ को जनआन्दोलनको बलबाट स्थापित सरकारको प्रधानमन्त्री बन्नसमेत अस्वीकार गरेका गणेशमान सिंह अहिलेको एकीकृत नेपाली कांग्रेसका आदर्श हुन् । काठमाडौंको मध्य शहरस्थित चाक्सीबारीमा रहेको पुख्र्यौली सम्पत्तिमा नै आजीवन राजनीति गरेका उनका अनुयायीको पहिचान पनि समकालीन नेपाली राजनीतिमा कुनै नेपाली कांग्रेसका नेताको बनेको छैन । पारिवारिक लिगेसी जोडिएका पिएल सिंह, सत्ता र शक्तिको राजनीतिबाट निराश भएर किनारा लागेकाहरु वा दुई हप्तापहिले मात्र निधन भएका नविन्द्रराज जोशी आदिको नाम कसैले लिने हो भने एउटा कुरा अन्यथा सत्ता, शक्ति र सम्पत्तिको त्रिकोण नबनेको कुनै त्यस्तो सादगी व्यक्ति नेपाली कांग्रेसको राजनीतिमा भेटिँदैन । यी दुवै पक्षका आदर्श व्यक्तित्वको उदाहरणले नेपालको राजनीतिमा ‘हात्तीका देखाउने र चपाउने दाँत’ स्मरण गराउँछ ।

नेपालको राजनीतिमा सत्ता, शक्ति र सम्पत्तिको त्रिकोणको कति ठूलो प्रभाव छ भन्ने अर्को एउटा उदाहरण हुन्– राम कार्की । खाईजीविकाको लागि राजनीतिमा नलागेका कार्कीले सांसद र मन्त्री हुने अवसर नपाएका पनि होइनन् तर जीवनको उर्वर युवाकाललाई जीवनमरणको दोसाँधमा होमेर राजनीतिक यात्रामा हिँडेका यी यात्रीलाई सत्तायात्राको विजयोत्सवले कुनै खुशी दिन सकेन । देशकै सूर्योदय भूमिबाट सांसद निर्वाचित कार्कीले लिलाममा राखेको सांसद पदका सम्बन्धमा संवैधानिक विकल्प नहुँदा निर्वाचन खर्चको ब्याजले पिरोलेको छ उनलाई । उनको निर्वाचन खर्चको बक्यौता फस्र्योट नहुँदै सांसद पदावधि सकिन लागिसकेको छ ।

वर्तमान राजनीतिमा सक्रिय हरेक व्यक्तिका आदर्श नेताहरु छन् । हरेक नेता तिनै आदर्श नेताहरुको आफूलाई अनुयायी र चेला भएको दाबी मात्र होइन, त्यसमा गर्व पनि गर्छन् । तर आफ्ना आदर्श मानिएका महान्हरुले दिएको प्रेरणाबाट राजनीतिमा होमिएका कसैले पनि तिनको पथ अनुशरण गरेको भने देखिँदैन । उदाहरणका लागि माथि उल्लेख मदन भण्डारीका अनुयायी हुन् वा गणेशमान सिंहका अनुयायी । काठमाडौंमा सुविधासम्पन्न घर, सपरिवारलाई सकेसम्म सरकारी सुविधाको सवारीसाधन, महँगो निजी विद्यालयमा सन्तानको शिक्षा, पर्याप्त मुनाफा हुने शेयरमा लगानी आदि त अहिलेको राजनीतिमा सक्रिय हुनेहरुका न्यूनतम कुराहरु हुन्, जो सार्वजनिक रुपमा दृश्यवान पनि हुन्छन् तर निजी जीवनशैली, रहनसहन, खानपान, उठबस आदि तिनका दैनिकी न दिनको घामलाई थाहा छ न रातको चन्द्रलाई नै थाहा छ ।

आफूलाई गणेशमान वा कृष्णप्रसाद भट्टराईको आदर्शको अनुयायी बताउनुहुने मात्र होइन, उहाँहरुकै प्रेरणा÷प्रभाव र सहयोगमा नेपालको राजनीतिमा पश्चिमबाट उदाउनुभएका शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । लैंगिक मैत्री नलागे पनि नेपाली भाषाको प्रयोगमा महिला नै सही, राष्ट्रप्रमुखलाई राष्ट्रपति भनिने वा कुनै पनि राजनीतिक पार्टी वा संस्थाहरुका प्रमुख सभापति भनिने विषयमा पनि छुट्टै चर्चा गर्न सकिन्छ । उमेर र स्वास्थ्यको उदाहरण दिएर कसैको पनि योग्यता, क्षमता र भूमिकालाई न्यूनीकरण गरिनुहुन्न । अनेक संयोग र योगले चारपटक प्रधानमन्त्री हुनुभएका देउवाले नेतृत्व गर्नुभएको नेपाली कांग्रेस उहाँका आदर्श र महान् भनिएका नेताहरुले छोडेर गएपछि पनि नेतृत्व गरिरहनुभएकै छ । चलाइरहनुभएको छ । तर, कतिपय सन्दर्भमा यस्तो लाग्छ, उहाँ वा उहाँहरु नभएको भए वा नभए न देश चल्छ न पार्टी नै चल्छ ।

महान् जो भनिए वा थिए, तिनले त छोडेर गएको दशकौं भइसक्यो तर उहाँहरुले पुस्तान्तरण गर्नुपर्छ भन्ने कुरामा उदार दिलले न सल्लाह गरेको सुनिन्छ न व्यवहारले कुनै संकेत दिन्छ । त्यसैले महान् आदर्श र योग्य त ती अगाडि नाम लिएका कुनै व्यक्तित्वहरु होइनन् कि उहाँहरु नै हो, जो अहिले आफूले रहे, सम्हालेको अवस्थाबाट आफूलाई बदल्न चाहनुहुन्न । नेपाली कांग्रेसको चर्चा गर्दा कोइराला परिवारका गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुले बीपी कोइराला बितेको दशकौंसम्म आफ्ना आदर्श वा महान् अग्रजमा बीपीकै नाम जपेर आफ्नो योग्यताको होइन, अयोग्यताकै लागि सत्ता, शक्ति, पद, प्रतिष्ठा र नेतृत्वको भोकबाट तृप्त भएको व्यवहार गर्नुभएन । दुःख त यसमा छ कि त्यो भोक तृप्त नहुँदै उहाँहरुको असामयिक र दुःखद् निधन भयो ।

सत्ता, सडक र जंगल तीनैतिरको राजमा रहेको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वले अहिले जंगल भने खाली गरेको छ । यस पार्टीका नेताहरुले आफ्ना आदर्श वा महान् भनेर नामै लिएका व्यक्तित्वहरु न पुष्पलाल, न मदन भण्डारी, न मनमोहन अधिकारी, न निर्मल लामा, न नरबहादुर वा न तुलसीलाल आदि धेरै हुनुहुन्न । नेतृत्वमा रहनुभएकाहरु कि कोही कसैका दास, कि कोही कसैका जुम्रा र किर्नो मात्र हुन् । तर, यहाँ पनि अनेक प्रयोग र अवसरबाट को, कति क्षमताको छ अर्थात् को कति नक्कली सुन हो र को कति अकबरी सुन हो भनेर आरनमा तिनको पाइन टेस्ट भएर जगतले देखी, भोगिसकेकाहरुको व्यवहार हेर्दा यस्तो लाग्छ, ‘धन्य ती आदर्श अग्रजले बेलैमा यिनलाई पो विरासत छाडेर गएछन्, नत्र त बर्बाद नै हुने रहेछ ।’

जो जहाँ ज–जसका दास वा जुम्रा, किर्नो, गद्दार, प्रतिक्रियावादी आदि हुन्, अब उदारचित्तले आ–आफ्ना आग्रह बिसाउने बेला भएन र ? नामै लिनुपर्दा मोहन वैद्य, मोहनविक्रम सिंह, खड्गप्रसाद ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम एकपटक अगाडि पनि हेर्नुहोस् र एकपटक पछाडि पनि हेर्नुहोस् । देशलाई, राजनीतिलाई, आफ्नो पार्टीलाई, आफ्ना कार्यकर्तालाई जनैको साँचोजस्तो त्यसमा पनि कन्दनीमा कसेर नबस्नुहोस् । नयाँ सिर्जना र सृष्टिका लागि अगाडि बढ्न पुस्तान्तरणको बाटो खोल्नुहोस् । हलो अड्काएर गोरु चुट्ने कहिलेसम्म गर्नुहुन्छ ? यदि तपाईंहरु नभएको भए अर्थात् आफूहरु नभएको भए त आकाश नै खस्छ भनेर भ्रम नपाल्नुहोस् ।

तपाईंहरुले अहिले ‘आफूले नसम्हाले त बर्वादै हुन्छ’ भनेर सोच्नुभएको भ्रम र यही भ्रमले गरेको व्यवहारले देशमा रोपेको ‘विष वृक्ष’ तपाईंहरु सत्ता, शक्ति र नेतृत्वमा रहेसम्म बढिरहनेछ । यो विष जति बढ्छ, भोलि पनि त्यति नै प्रभाव पार्छ र नोक्सानी व्यहोर्नुपर्छ ।

टिप्पणीहरू