काठमाण्डौबाट बाहिरिने र भित्रनेलाई दुई दिनको मौका

काठमाण्डौबाट बाहिरिने र भित्रनेलाई दुई दिनको मौका

काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका छिर्नेका लागि दुई दिनको समय दिएर निषेधाज्ञा गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नागरिकको सहजताका लागि निषेधाज्ञा लगाइनुपूर्व दुई दिनको समय दिइने जानकारी दिनुभयो ।

पपराजुलीले उपत्यकाबाट बाहिरिने तथा भित्रिनेहरूका लागि दुई दिनको समय दिएर १६ गतेबाट निषेधाज्ञा गर्नेसम्बन्धमा छलफल भइरहेको बताउनुभयो । उपत्यका छाड्ने र भित्रिनेहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सवारी साधनको व्यवस्थापन भने आफैँले गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले उपत्यकामा कुन मोडलको निषेधाज्ञा गर्ने भन्नेबारे निर्णय भइनसकेको पनि बताउनुभयो । ‘हामी छलफलकै क्रममा छौँ । साँझसम्म निर्णय आउँछ,’उहाँले भन्नुभयो ।

प्रजिअ पराजुलीले जस्तो मोडलमा भएपनि निषेधाज्ञा घोषणा गरिने प्रष्ट पार्नुभयो । अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरूबीच छलफल भैरहेको र ढिलोमा साँझसम्म निर्णय आउने बताउनुभयो । ‘निषेधाज्ञा कुन मोडलबाट गर्ने भन्नेमा छलफल चलिरहेको छ तर,निषेधाज्ञा हुन्छ । साँझसम्ममा डिटेल आउँछ ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञा हुने जानकारी दिनुभयो । ‘कुन ढाँचामा गर्ने भन्ने छलफल हो,निषेधाज्ञा हुने चैं लगभग निश्चितजस्तै छ,’ उहाँले भन्नुभयो ।

जिल्ला प्रशासनले निर्णय गर्न नसकेर मन्त्रीपरिषद्लाई जिम्मा दिएको भन्ने कुराको उहाँले खण्डन गर्नुभयो । स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर आवश्यक निर्णय लिने र सोहीअनुसार छलफल भइरहेकाले निर्णय गर्न नसकेको भन्नु गलत भएको उहाँको भनाई छ ।

यसअघि विभिन्न अनलाइनले उपत्यकाका सिडिओहरूको बैठकले निषेधाज्ञाको निर्णय गर्न नसकेपछि मन्त्रिपरिषद्लाई जिम्मा दिएको भन्दै समाचार सम्प्रेषण गरेका थिए । ललितपुरका सिडिओ निरौलाले उक्त समाचारको खण्डन गर्नुभएको हो ।

निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुने तथा होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउने बताइएको छ ।

टिप्पणीहरू