दूतावासअगाडि पत्रकारमाथि दुर्व्यवहार

दूतावासअगाडि पत्रकारमाथि दुर्व्यवहार

भारतीय दूतावासअगाडि समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेकाे छ । ‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलन गर्न मंगलबार दूतावासअगाडि पुगेका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहाललाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

पत्रकार दाहाललाई प्रहरीहरुले भिडियो र फोटो खिचेको भन्दै पाखुरामा समातेर धकेलेको प्रत्यक्षदर्शी पत्रकारहरुले बताएका छन् । एक पत्रकारका अनुसार दूतावासअगाडि भारतीय नागरिकको भीडभाडको फोटो र भिडियो खिचिरहेका दाहाललाई एक्कासि प्रहरीले समातेको थियो । दाहालले आफू पत्रकार हुँ भन्दै परिचय पत्र देखाउँदासमेत नक्कली पत्रकार भनेर लछारपछार गरिएको उनले बताए ।

पछिल्लो समय पत्रकारमाथि भौतिक आक्रमण,धम्की र दुर्व्यवहारका घटना बढिरहेका छन् । हिजाे पनि अर्का एक पत्रकार पनि यस्तै आक्रमणको शिकार बनेका थिए । काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाण्डौं भ्यू टावर’को प्रगति विवरणबारे रिपोर्टिङ गर्न पुगेका नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि त्यहाँका ठेकेदार मनोज भेटवालसहितको टोलीले आक्रमण गरेको थियो ।

पत्रकारमाथि भएको आक्रमणलाई लिएर नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । महासचिव अजयबाबु सिवाकोटीले गुरागाईँमाथि आक्रमण गर्ने ठेकेदारलाई कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् । घटनामा संलग्नलाई प्रशासनिक कारवाही गरी क्षतिपूर्तिको व्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

यता,पत्रकार दाहालमाथि भएको प्रहरी ज्यादतीको भर्त्सना गर्दै युनियनको काठमाडौँ शाखाले पनि विज्ञप्ति जारी गरेको छ । युनियन काठमाडौँका अध्यक्ष जगन्नाथ दुलालले जारी गरेको विज्ञप्तिमा समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल छानविन गरी कडा कारवाही गर्न माग गरिएको छ ।

टिप्पणीहरू