पत्रकारपछि इन्जिनियरमा अलग अलग प्यानल

पत्रकारपछि इन्जिनियरमा अलग अलग प्यानल

राष्ट्रिय राजनीतिमा बढेको ध्रुवीकरणको असर नेपाल इञ्जिनियर्स एसोसिएसन (नेईए) निर्वाचनमा पर्ने भएको छ । नेईएको आसन्न ३३ औं कार्य समितिको निर्वाचनमा दलीय ध्रुवीकरणको बाछिटा परेको हो ।

यसपटक केही अनौठा गठवन्धन पनि बनेका छन् । पत्रकार महासंघको चुनावमा नमीठो पराजय भोगेको एमालेसम्वद्ध प्रोग्रेसिभ इञ्जिनियरिङ प्रोफेसनल्स एशोसिएसन नेपाल (पेपान) एकतावद्ध भएर निर्वाचनमा जाने तयारीमा जुट्दा काँग्रेससम्बद्ध सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) भने दुई फ्याक भएको बताइन्छ ।

निर्वाचनमा एमालेको केपी शर्मा ओली पक्षबाट अध्यक्षमा ई. सुरज लामिछाने र माधवकुमार नेपाल पक्षबाट महासचिवमा ई. विरोध रिजालले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन)सहितको वामपन्थी एकताको प्रयास असफल हुँदा पेपानले एकल उम्मेदवारी दिएको बताइन्छ ।

यता, जनता समाजवादी पार्टी (जसपा) को अन्तरकलह नेइएको निर्वाचनमा प्रकट भएको छ । जसपासम्वद्ध नेपाल इञ्जिनियरिङ समाज (एनईएस)को एउटा पक्ष (बाबुराम भट्टराई र उपेन्द्र यादव)ले माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) संग चुनावी तालमेल गरेको छ भने अर्को पक्ष (महन्थ ठाकुर र राजेन्द्र महतो)ले काँग्रेससम्वद्ध सिडेनलाई सघाउने निर्णय गरेको जनाइएको छ ।

निओन र एनईएसले संयुक्त गठवन्धनका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् । यो गठवन्धनले ई. डा. हरिराम पराजुलीको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ । यो प्यानलबाट उपाध्यक्षमा आ. नसला श्रेष्ठ, महासचिवमा ई.अमृतमणि रिमाल, उप–महासचिवमा ई. विकास वाग्ले, कोषाध्यषमा ई. श्यामनारायण चौधरी र सह–कोषाध्यक्षमा ई.स्मिता भट्टको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी,सदस्यहरुमा ई. सुनिल दाहाल,ई. योगेन्द्र थापा,ई. अनिल जैसवाल,ई. विशाल अधिकारी, ई. रामु श्रेष्ठ, ई. पुष्पबहादुर कटुवाल, ई. सञ्जिवनारायण यादव, ई. अर्जुन श्रेष्ठ, ई. सुरज रेग्मी, ई. कुलभूषण शेखर शर्मा, ई. अनुप श्रेष्ठ र ई. विकास महर्जनको उम्मेदवारी परेको छ ।

नेईएबाट इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यका लागि गठवन्धनले ई. दिपक श्रेष्ठ, आ. विशाल अधिकारी, ई. देवनारायण यादव, ई. यज्ञप्रसाद गैरे र ई. विजय कुमार बिष्टलाई अघि सारेको छ ।

नेईएको नयाँ कार्यसमिति,प्रदेश समिति र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि आगामी बैशाख २४ गते निर्वाचन हुँदैछ ।

टिप्पणीहरू