झण्डाको आश, विश्वासमा सत्यानाश

झण्डाको आश, विश्वासमा सत्यानाश

आफ्ना पक्षमा मान्छे पनि चाहिने, विश्वासचाहिँ २–३ जनाबाहेक कसैलाई नगर्ने यो स्वभाव हो, हाम्रा सरकार प्रमुखको । प्रधानमन्त्रीको पक्षमा लागिसकेपछि सांसदहरूको स्वाभाविक आश हुन्छ, मन्त्री बन्ने । तर आशैआशमा एकजना सांसद निराश छन् तर फेरि पनि प्रधानमन्त्रीकै पक्षमा लाग्ने बाध्यता छ । उनी हुन्, चितवनका कृष्णभक्त पोखरेल ।

दुई वर्षअघि बंगलादेशको ‘एमबिबिएस शब्द काण्ड’ लागेर कानुनमन्त्रीबाट राजीनामा गराइएका शेरबहादुर तामाङपछि वकालती पृष्ठभूमिको नेताले झण्डा पाउने लाइनमा थिए । भरतपुरस्थित पत्रकार महासंघको भवनमा अहिले पनि उनको ल फर्म छ । त्यसबेला सुवास नेम्वाङले मन्त्री बनाउनका लागि प्रधानमन्त्रीसँग कुरा गरेपछि ढुक्क थिए । अनि, छोरीलाई साथमा लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पनि पुगे । तर, त्यहाँबाट निराश भएर फर्किए ।

प्रधानमन्त्रीले यस्तो कुरा गरिदिनुभयो कि, आशा जति सबै निराशामा परिणत भयो । उहाँले भन्नुभयो, ‘तपाइँलाई मन्त्री बनाउन त खोजेको हुँ । तर, बेलाबखत मलाई नै क्रस गरिदिनुहुन्छ कि भन्ने डर लाग्यो । अहिलेलाई भैगो, मन्त्री बनाइन ।’ त्यसपछि कानुनमन्त्री बन्ने पालो आयो भानुभक्त ढकालको ।

उहाँको स्वभावलाई अर्को प्रसंगले पनि प्रष्ट्याउँछ । जतिबेला उहाँ स्वास्थ्योपचारका लागि दिल्ली पुग्नुभएको थियो, त्यसबेला बस्ने, खाने र गाडीमा डुलाउनेसम्मको काम गरे, व्यापारी विनोद चौधरीका कान्छा छोरा बरुणले । दिल्लीको गुडगाउँनजिक उनीहरूको आफ्नै अपार्टमेन्ट छ । केपीलाई त्यहीँ राखे । आफैँ ड्राइभरझैँ भएर अस्पताल लैजाने, कुरुवाको काम गर्ने, खाना खुवाउने जस्ता काम गरे ।

व्यापारीले केही गरेपछि केही पाइने आश गर्नु स्वाभाविक हो । आशमात्र हैन, त्यसबेला विनोदलाई सांसद बनाएर अर्थमन्त्रीसम्मको बाचा गरिएको थियो । त्यसैले दिल्ली उपचारक्रमको केही खर्च उनले व्यहोरे । चुनावी माहौल शुरु भयो । विनोदको टिकट प्रत्यक्षमा हो कि समानुपातिकमा भन्ने टुंगो भएन ।

एकचोटी त सांसद बनाएर गुण तिरियो त्यसपछि भने प्रधानमन्त्रीले भेटघाट, फोनसम्पर्क नै बिच्छेद गरिदिनुभयो । सार्वजनिक समारोहहरूमा गालीगलौज शुरु भए । र, विनोदले अर्कोचोटि कांग्रेसलाई पैसा बुझाएर रातो राहदानी सुरक्षित गर्नुपरेको थियो । उनी अहिले कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद छन् ।

टिप्पणीहरू