माओवादीको भातृ संगठनमा लफडा र निलम्बन

माओवादीको भातृ संगठनमा लफडा र निलम्बन

माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल सेक्युरिटी मजदुर संघमा लफडा देखिएको छ । संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले उप-महासचिव नारायणप्रसाद खरेललाई गम्भीर आरोप लगाई संगठनबाट निलम्बन गरेपछि त्यहाँभित्रको लफडा बाहिरिएको हो ।

संघको अनुशासन,श्रम तथा प्रचार प्रसार विभागको जिम्मेवारीसमेत पाएका खरेललाई संगठनको निर्णय विपरित गतिविधि गरेको आरोप लगाइएको छ । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ढकालले खरेलले पदको दुरुपयोग गरी अनुशासनहीन र गुटगत गतिविधि गरेकाले निलम्बन गरिएको बताएका हुन् । सच्चिनका लागि पटक-पटक गरेको आग्रह खरेलले बेवास्ता गरेपछि निलम्बन गर्नुपरेको ढकालको भनाई छ ।

विज्ञप्तिमा खरेललाई विश्वास गरेर संगठनमा महत्वपूर्ण जिम्मेवारी दिइएपनि सोअनुसारको भूमिका निर्वाह नगरेको बताइएको छ । भनिएको छ, ‘भेलाको पहिलो बैठकले विभागीय जिम्मेवारी बाँडफाँड गर्नेक्रममा अनुशासन, श्रम तथा प्रचार प्रसार विभागको जिम्मेवारी उप-महासचिव कमरेड नारायणप्रसाद खरेलले पाउनुभयो, जुन विभाग संगठन विस्तार र शोषित,पीडित मजदुरहरुको न्यायिक अधिकार दिलाउन महत्वपूर्ण भूमिका हुन आउँछ । विभागले स्वच्छ,पारदर्शी,गुट ररहित विवादरहित,अनुशासित र निष्पक्ष रुपले काम अघि बढाउने अपेक्षा गरेका थियौं’,

विज्ञप्तिमा खरेलले पदको चरम दुरुपयोग गरेर संगठनविरुद्ध काम गरेको आरोप लगाइएको छ । खरेलले आफूलाई सुधारेर संगठन र पेशागत हकहितमा काम गर्न अनिच्छा देखाएपछि निलम्बन गर्नुपरेको भनिएको छ । ‘तपाईंले पाएको अख्तियारीलाई चरम दूरुपयोग गर्दै ठीक उल्टो, अनुशासनहीन,गुटगत,छलछाम, अपारदर्शी र पक्षपाती ढंगले कामकारवाही अगाडि बढाएकाले सच्चिनका लागि पटक-पटक मौखिक तथा लिखित रुपमा १५ दिने र सात दिने लिखित स्पष्टिकरण माग्दा उचित र चित्तबुझ्दो जवाफ नआएकाले विधानको भाग १० धारा ३१ को १ र २ धारा ३२ को १ अनुसार केन्द्रीय समितिको आगामी बैठकसम्म साधारण सदस्यसम्म नरहने गरी निलम्बन गरिन्छ ।’

खरेलले आफ्नो आचरण सुधार गरेर आत्मालोचित भए निलम्बन फुकुवा गरी पुनः जिम्मेवारी दिइने अन्यथा संगठनबाट नै निश्कासन गरिने अध्यक्ष ढकालको चेतावनी छ । ‘यसबीच तपाइँले आचरण सुधार गरी बैठकमा आत्मालोचित भै सच्चिनुभयो भने निलम्बन अवधिभर संगठनको मान्यतामा रहेमा निलम्बन फुकुवा गरी पुन: जिम्मेवारी दिइनेछ । अन्यथा संगठनबाट निश्कासन गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

निलम्बन पत्रको बोधार्थ माओवादी केन्द्र,अखिल नेपाल ट्रेड युनियन महासंघ,नेपाल सुरक्षा व्यवसायी महासंघ,नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन,नेपाल श्रमिक आपूर्तिकर्ता,श्रम तथा रोजगार कार्यालयलाई गरिएको छ । संघ अखिल नेपाल ट्रेड युनियन महासंघको एउटा पेशागत घटक हो । संघमा सेक्युरिटी प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरु सदस्यका रुपमा रहेका हुन्छन् ।

टिप्पणीहरू