पद गएपछि मन्त्रीको प्रतिक्रिया: प्रचण्डले निरँकुशता देखाउनुभयो ।

पद गएपछि मन्त्रीको प्रतिक्रिया: प्रचण्डले निरँकुशता देखाउनुभयो ।

माओवादी छाडेर एमालेको तर्फबाट मन्त्री बन्न गएका गौरिशंकर चौधरीले आफ्नो साँसद पद खोस्नुलाई जनमतको अपमान हो भन्नुभएको छ । आजै चौधरीसहित माओवादी केन्द्रका चार सांसदले पद गुमाएका छन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रत्यक्ष निर्वाचन जितेका लेखराज भट्ट,प्रभु साह,टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको पद गुमेको हो ।

तत्कालीन नेकपाको विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका चारै जना अहिले मन्त्री छन् । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने फैसला गरेपछि पनि उनीहरु एमालेतिरै लागेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको पद खारेज भएको जानकारी गराउनुभएको हो । बुधबार माओवादी केन्द्रले संसद सचिवालयमा दल त्यागको सूचना दिएको थियो । पद गुमाएपछि प्रतिक्रिया दिंदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री चौधरीले माओवादी केन्द्रले जनमतको अपमान गरेको प्रतिक्रिया दिनुभयो । सरकारलाई दिएको समर्थन यथावत राखेर आफूहरुमाथि कारवाही गर्नु विधि र प्रक्रियाका हिसाबलेसमेत गलत भएको उहाँको भनाइ छ ।

‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छैन,समर्थन फिर्ता लिएको भए एउटा कुरा हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘त्यसैले यो विधि र प्रक्रिया मिलेको छैन । अर्को कुरा हामीले गठवन्धनका तर्फबाट चुनाव जितेका हौँ, माओवादी केन्द्रको मात्र भोटले जितेको हैन । एमालेको समेत भोटले जितेको हुँदा यो जनमत विपरित निर्णय हो ।’

आफूहरु जनताबाट प्रत्यक्ष निर्वाचित सांसद भएकाले प्रचण्डले चाहँदैमा कारवाही गर्न नसक्ने पनि उहाँले बताउनुभयो । ‘यो प्रचण्डको निरङ्कुश कार्यशैलीको नमूना हो । उहाँले मतदाताहरुको अपमान गर्नुभएको छ’,चौधरीले भन्नुभयो । उहाँले आफूहरु एमालेमा प्रवेश गरेको नभई कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने अभियानमा रहेको पनि दाबी गर्नुभयो ।

प्रचण्डको स्वार्थका कारण नेकपा विभाजन भएको उहाँको आरोप छ । प्रचण्डले आफ्नो स्वार्थका लागि पार्टी एकता गरेको र स्वार्थ नमिल्दा छोडेर हिँडेको भन्दै मन्त्री चौधरीले प्रचण्डले प्रधानमन्त्री बन्नका लागि पार्टी फुटाएको गम्भीर आरोप लगाउनुभयो । अब तपाइँहरु के गर्नुहुन्छ त भन्ने जिज्ञासामा चौधरीले अहिले केही नसोचेको बताउनुभयो । ‘तत्काल केही सोचेका छैनौँ । हामी छलफल गरेर एउटा निर्णय गर्छौँ’,उहाँले भन्नुभयो ।

एमालेमै बसेर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन प्रयास हुने भन्दै उहाँले माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

यसअघि माओवादी केन्द्रले चौधरीसहित चारै जनालाई छुट्टाछुट्टै स्पष्टीकरण सोधेको थियो । मन्त्री भट्ट,रायमाझी र चौधरीले स्पष्टिकरणको जवाफ दिएका थिएनन् भने साहको जवाफ चित्तबुझ्दो नभएको माओवादी केन्द्रले बताएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ । सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले ऐनको दफा ३४ को उपदफा १ बमोजिम पदरिक्त भएको जानकारी गराउनुभएको हो ।

टिप्पणीहरू