महाराजहरुका मौसमजस्तै रंगिला मन

महाराजहरुका मौसमजस्तै रंगिला मन

इंग्ल्याण्डमा विलियम (तृतीय) को मृत्युपछि अलेक्ज्याण्ड्रिना भिक्टोरिया गद्दीमा बसिन् । भिक्टोरिया त्यहाँका राजा जर्ज (तृतीय) की नातिनी हुन् । जर्ज (तृतीय) को निधनपश्चात् उनैका जेठा छोरा जर्ज (चतुर्थ) र साइँलो छोरा विलियम राजा बने तर काइँलो छोरो एडबर्डले गद्दीमा बस्न पाएनन् । सन् १८३७ मा गद्दीमा बसिन् उनैकी छोरी भिक्टोरिया । महारानी बन्दा भिक्टोरिया १८ वर्षकी थिइन्, अविवाहित । पछि उनको जर्मन ड्युकका छोरा राजकुमार अल्बर्टसँग प्रेम बस्यो र सन् १८४० मा बिहे भयो । भिक्टोरिया अल्बर्टभन्दा ३ महिनाले जेठी थिइन् । भिक्टोरिया र अल्बर्ट ८ सन्तानको आमा–बुबा बने । यद्यपि, अल्बर्टको मृत्यु ४१ वर्षको अल्पायुमै भयो ।

रानी भिक्टोरिया जेठो छोरा अल्बर्ट एडबर्डलाई अन्य सन्तानभन्दा श्रेष्ठ बनाउन चाहन्थिन् । त्यसैले सानो छँदै परिवारबाट अलग पारिन् र शिक्षादिक्षा विशेष तवरले दिन लगाइन् । अत्यन्त कडा अनुशासनमा हुर्केको भए पनि एडबर्ड २० वर्षको उमेरमै सिगारको लतमा फसे । खानामा बेपरवाह बने । दिन कैयौंचोटि भोजन गर्थे । कहिलेकाहीं त १२ पटकसम्म खान्थे । नतिजा सधैं पाचनको समस्याले सतायो । २२ वर्षको उमेरमा रानी भिक्टोरियाले उनको बिहे डेनमार्कको राजपरिवारका सदस्य १९ वर्षीया अलेक्ज्याण्ड्रियासँग गरिदिइन् । बिहेको समय एडबर्ड ‘कुमार’ थिएनन् । १९ वर्षको उमेरमा आयरल्याण्डकी अभिनेत्री निली क्लिफडेनसँग लहसिएका थिए । त्यो बेला एडबर्ड आयरल्याण्डस्थित सैन्य क्याम्पमा खटिएका थिए । उनी र निली त्यहाँको कुराध क्याम्पमा रातदिन बिताउँथे । यो क्रम १० महिनासम्म निरन्तर चल्यो । छोराले उक्त ‘पाप’ गर्न थालेको जानकारी पाएपछि नै भिक्टोरिया बुहारी खोज्न थालेकी थिइन् ।

अलेक्ज्याण्ड्रिया अत्यन्त रुपवती थिइन् । सधैं पत्नीको धर्म निभाइन् । लोग्नेको युरोपभरि प्रेमिका छन् भन्ने थाहा पाउँदा पाउँदै पनि औधी माया गर्थिन् । त्यसैले ६ वर्षको दौरान पाँच सन्तानको आमा बनिन् । एडबर्ड बरोबर जर्मनी र फ्रान्स गइरहन्थे । स्पा, स्टिम बाथ उनको शोख थियो । जर्मन प्रहरीका अनुसार उनी होटलमा कहिले अभिनेत्री, वेश्या र त्यहाँको कुलिन वर्गका महिलासँग रात बिताउँथे । तीमध्येको एक कोरा पर्ल थिइन् भने अर्की गिउलिया बरुसी । कोरा फ्रान्सिसी वेश्या थिइन् भने गिउलिया इटालियन । गिउलिया त आफूलाई विश्वकै सुन्दर वेश्या दाबी गर्थिन् । गिउलियाले एडबर्डसँगको पहिलो भेटमै लगाइराखेको लुगा खसालेर सर्वांग नंग्याएकी थिइन् । जब एडबर्डले ‘यो के गरेको ?’ भनेर सोधे, उनले जवाफ दिइन्– ‘मेरो सर्वश्रेष्ठ सुन्दर अंग प्रस्तुत गरेकी हुँ ।’
पेरिस भ्रमणको दौरान एडबर्डले रंगमञ्चका कलाकार हार्टेन्से स्नाइडर, माउलिन रोध, नर्तकी लुइसा बेबर, नायिका सराह बर्नहाड र नगरबधु ला बेला ओटेरोसँग पनि सम्बन्ध जोडे । उनी वेश्यालय पनि धाउँथे । यौनको मामिलामा महाबली थिए । उनको यौन क्षमताको तारिफ पछिल्ला प्रेमिकाहरु डेजी बु्रक र एलिस केपेलहरु गरिरहन्थे । एडबर्ड लामो समय युवराजको रुपमा बिताएका (६० वर्ष) र राजाको रुपमा छोटो समय (९ वर्ष) बिताएका इंग्ल्याण्डका राजामा पर्छन् । तर, राजा भइसक्दा पनि विवाहेत्तर सम्बन्ध राख्न भने कहिल्यै छोडेनन् । पछिल्लो समय जब उमेर ढल्किँदै गयो, उनको रुची कम उमेरका युवतीमा गयो । यसबाहेक आफ्नै साथीभाइका पत्नीहरुसँग पनि सम्बन्ध जोड्थे । ती विवाहितहरुको घरमा दिउँसो जान्थे, जब लोग्नेहरु कामको सिलसिलामा घरबाहिर हुन्थे, स्थायी प्रेमिका बनाएकाहरुकोमा साँझ पुग्थे । नगरबधु र अभिनेत्रीहरुकोमा राति । एउटी महिला, ह्यारियट मोर्डन्टले अन्धो बच्चा जन्माइन् । सुत्केरीपछि उनले ग्लानि महसुस गरिन् र बच्चा राजकुमार एडबर्डको भएको रहस्य लोग्नेलाई सुनाइन् ।

सन् १८७७ मे २७ को बेलुकी आर्कटिक महासागरको खोजीमा हिँडेका सर एलेन यंगले घरमा एउटा रात्रिभोजको आयोजना गरे । रात्रिभोजमा सामेल भइदिन वेल्स आइपुगेकी अमेरिकी अभिनेत्री लिली लैंगट्री (इमिली शार्लोट लैंगट्री) लाई विशेष निवेदन गरे । अत्यन्त सुन्दर लिली आफ्ना लोग्ने एडबर्ड लैंगट्रीसँग इंग्ल्याण्ड पुगेकी थिइन् । एडबर्ड अत्यन्त सोझा थिए । लिलीले आइपुग्नेबित्तिकै पछि प्रधानमन्त्री भएका सर विन्स्टन चर्चिलका पिता राजकुमार रुडोल्फ चर्चिल र मामा मोरेटन फ्रेबिनलाई प्रेमजालमा फसाइसकेकी थिइन् । अष्ट्रियाका राजकुमार रुन्डोल्फ प्रेमिका बन्नसमेत सफल उनी एलेनको घरमा आयोजित रात्रिभोजमा अबेर रातिसम्म बसिन् । मदिरा सेवन र नाचगान चलिनै रह्यो । त्यहाँ युवराज एडबर्ड पनि थिए । उनले रात्रिभोजमा सामेल भएदेखि नै लिलीलाई नियालिरहेका थिए । समारोह समाप्त भएपछि एलेनले उनीहरुको परिचय गराइदिए । सबै पाहुना फर्के तर एडबर्ड र लिली गफमा मस्त थिए । पहिलो भेटघाटमै एडबर्ड लिलीलाई देखेर मन्त्रमुग्ध भए । त्यहाँ लिलीको लोग्ने एडबर्ड पनि थिए तर युवराज एडबर्ड र लिलीले बेफिक्री प्रेम साटासाट गर्न भ्याए ।

त्यो दिनपछि ३६ वर्षीय युवराज एडबर्ड र २४ वर्षीया लिली हरेक ठाउँमा सँगसँगै देखापरे । लिलीलाई एडबर्डको औपचारिक प्रेमिकाको रुपमा त्यहाँका जनताले लिए । लोकप्रिय अभिनेत्रीको फोटो टाँगिएजस्तै उनको फोटो घरघरका भित्तामा टाँगियो । एडबर्डले लिलीलाई आमासँग पनि भेटाउन लगे । एडबर्डकी पत्नी अलेक्ज्याण्ड्रियाले पनि आफ्ना लोग्ने र लिलीको सम्बन्धलाई सामान्य रुपमा लिइन्, स्वीकारिन् । यहाँसम्म कि बिहे गरेर घरमै ल्याउँदा पनि आपत्ति नहुने विचार प्रकट गरिन् । एडबर्ड र लिली घोडा चढेर पहाडी इलाकातर्फ घुम्न जान्थे । दिनरात सँगै बिताउँथे । एडबर्ड लिलीको प्रेममा नराम्रोसित फसिसकेका थिए । अतः खुला बग्गीमा सवार भएर लिली बसेको अलेक्ज्याण्ड्रिया रोड पुग्थे । उनी त्यहाँ पुग्दा स्थानीय महिलाहरु उनलाई हेर्न तँछाडमछाड गर्थे । उनी लिलीको घरमा घण्टौं बस्थे । रात बिताउँथे । उनलाई कुनै रोकटोक थिएन, न लाज । खुलमखुल्ला लिलीसँग सम्बन्ध राखेर हिँड्थे ।

लिली कहिलेकाहीं नाट्यघर जान्थिन् । भित्र उनलाई हेर्न अन्य महिला कुर्सीमाथि चढ्थे । त्यहाँका कुलिन परिवार लिलीलाई इज्जतको नजरले हेर्थे । उनी आफ्नो घर आउँदा गौरव ठान्थे । लिली पनि शाही घोडामा सवार भएर लर्डहरुको घरघरमा पुग्थिन् । उनको कृपा पाउन कुलिन परिवार तँछाडमछाड गर्थे । लर्ड लोन्सडेलसँग त घोडामा सवार भई घुम्थिन् । लिलीको सौन्दर्यबाट त्यसबेलाका प्रख्यात चित्रकार मार्गोट एस्क्विथ पनि प्रभावित थिए । उनले लिलीको चित्र कोरे । तत्कालीन इंग्ल्याण्डका जनता अष्ट्रियाकी महारानी एलिजाबेथ, लेडी डुलहौजीको सुन्दरताको बखान गरेर थाक्दैनथे तर लिलीको सौन्दर्य र प्रसिद्धिले सबै रेकर्ड तोड्न सफल भयो ।

लिलीका लागि पनि एडबर्डको प्रेमिका बनिरहनु गौरवको कुरा थियो । उनको लोकप्रियता र यश चारैतिर फैलिँदै थियो । एडबर्डसितको सम्बन्ध तीन वर्ष नाघिसकेको थियो । यो सम्बन्धलाई लिएर न रानीलाई, न पत्नी अलेक्ज्याण्ड्रियालाई नै आपत्ति थियो तर यसबीच लिली गर्भवती भइदिइन् । जनताले लिलीको गर्भमा रहेको बच्चा युवराज एडबर्डकै हो भन्ठाने । हल्ला फैलियो कि गर्भवती बनेकै कारण लिलीको लोग्नेले उनलाई तलाक दिँदैछन् । यो हल्लाले जनमत पूर्णतः लिलीको विरुद्धमा गयो । अब लिली एकाएक सबैको घृणाको पात्र बन्न पुगिन् । उनको गर्भमा रहेको बच्चा न उनका पति एडबर्डको थियो न प्रेमी युवराज एडबर्डको । युवराज एडबर्डसँग प्रेम गर्दागर्दै पनि श्रेवस्बुरीका लर्ड, वाटेनवर्गका राजकुमार लुइस, लेखक क्लारेन्स जोन्स, आफ्नै भाउजूका भाइ लर्ड रानेलर्घसित लिलीको सम्बन्ध थियो । श्रेवस्बुरीका लर्डसित त भाग्ने सुर गरिसकेकी थिइन् तर पत्रकार एडोल्फुस रोजनबर्गले ‘टाउन टक’ पत्रिकामा खुलस्त पारेपछि पछि हटिन् । अचम्मको कुरा उनको गर्भमा हुर्किराखेको बच्चा यिनीहरु कसैको थिएन । बच्चाका पिता थिए, उनका पुराना साथी आर्थर जोन्स ।

लिली गर्भवती बनेको खबरबाट युवराज एडबर्ड पनि बदनाम हुने डरले पछि हटे । उनले पैसा दिएर लिलीलाई खुसुक्क फ्रान्स पठाइदिए । पेरिसमा लिलीले छोरी जीन मेरीलाई जन्म दिइन् । युवराज एडबर्डले छोडेपछि लिलीलाई आर्थिक समस्या प¥यो । सुप्रसिद्ध आइरिस कवि तथा नाटककार ओस्कार वाइल्ड जो उनका असल मित्र थिए, उनले लिलीलाई नाटकघरमा अभिनय गर्न सुझाए । लिली पुनः लण्डन पुगेर नाटकमा अभिनय गर्न थालिन् । उनले फेरि एकपटक इंग्ल्याण्डमा प्रसिद्धी कमाइन् । उनको अभिनयको चौतर्फी तारिफ हुन थाल्यो । उनी अभिनित नाटक मञ्चन हुँदा अभूतपूर्व रुपमा हल खचाखच भरिन थाल्यो । प्रसिद्धी शिखरमा पुगेपछि युवराज एडबर्ड पुनः लिलीतर्फ आकर्षित भए । उनी नाट्यघर पुग्न थाले । लिली अमेरिका गइन् । त्यहाँ पनि अभिनयको तारिफ भयो । उनी अकूत धन कमाएर पुनः इंग्ल्याण्ड फर्किइन् । अब नाटकमा अभिनय मात्र होइन, निर्देशनसमेत गर्न थालिन् । निर्माता पनि बनिन् ।

अमेरिकामा रहँदा लिलीले फ्रेडरिक गेबहार्डसँग सम्बन्ध गाँसिन् । फ्रेडरिक घोडाहरुको मालिक र खेलाडी थिए । उनी अकूत धनसम्पत्तिका मालिक थिए । लिलीले उनीसँग मिलेर घोडा दौड प्रतियोगिताहरु पनि आयोजना गरिन् । उनीहरु करिब ९ वर्ष पति–पत्नीसरह बसे तर बिहे भने गरेनन् । बरु फ्रेडरिकले सन् १८९५ मा लुलु मोरिस नाउँकी युवतीसित बिहे गरेर लिलीसितको सम्बन्ध तोडे । लिलीले पनि त्यसपछिका दिनमा जर्ज अलेक्ज्याण्डर बाइर्ड, क्याप्टेन जेम्स मिचेललगायतका थुप्रै पुरुषलाई प्रेमी बनाइन् । त्यस्तै युवराज एडबर्डले पनि डेजी बु्रक, एलिस केपेललाई प्रेमिका बनाए । डेजीसँग ९ वर्ष र केपेलसँग केही वर्ष सम्बन्ध राखे ।

सन् १९०१ मा रानी भिक्टोरियाको मृत्युपछि ६० वर्ष पुगिसकेका एडबर्ड राजा भए । उनले प्रेमिका केपेललाई दरबारमा आउन–जान दिए । रानी अलेक्ज्याण्ड्रिया पनि केपेललाई एडबर्डको शयनकक्षसम्म जानसमेत रोक्दिनथिइन् । एडबर्ड जब एडबर्ड (सप्तम) को नाउँबाट गद्दीसिन भए, उनको मनमा एकपटक फेरि लिलीप्रति मोह बढ्यो । प्रेमको याचनासमेत गरे तर त्यसबेलासम्ममा लिली निकै बदलिइसकेकी थिइन् । उनको मनले राजा एडबर्डको प्रेम स्वीकार्न तयार भएन । बेलायत नबसी अमेरिका गई बस्न थालिन् । अभिनयमै होमिइन् । युवराज एडबर्डको सन् १९१० मा र लिलीको सन् १९२९ मा निधन भयो । एडबर्ड ६९ र लिली ७७ वर्षकी थिइन् । एडबर्डकी पत्नी तथा रानी अलेक्ज्याण्ड्रियाको निधन लिलीको निधन हुनु चार वर्षअघि भइसकेको थियो ।

टिप्पणीहरू