प्रधानमन्त्रीको व्यवहार कति मर्यादित ?

प्रधानमन्त्रीको व्यवहार कति मर्यादित ?

बन्द कोठाभित्र देखिँदै आएको उहाँको असहिष्णु र अमर्यादित व्यवहार अचेल सार्वजनिक कार्यक्रम र औपचारिक मञ्चहरूमै छरपष्ट हुन थालेको छ ।

आफ्नो निर्णयलाई स्वीकार नगर्ने,सुझाव दिने धृष्टता देखाउने या आलोचना गर्ने जो कोहीप्रति प्रधानमन्त्री केपी शर्मा ओली कतिसम्म असहिष्णु देखिन थाल्नुभएको छ त्यो बालुवाटारनिकटबाहेक सबैले महसुस गरेका छन् । बन्द कोठाभित्र देखिँदै आएको उहाँको असहिष्णु र अमर्यादित व्यवहार अचेल सार्वजनिक कार्यक्रम र औपचारिक मञ्चहरूमै छरपष्ट हुन थालेको छ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा फैसला हुने दिन नजिकिँदै जाँदा उहाँका असंवैधानिक कदमको विरोध गर्नेहरूप्रति लक्षित छुद्र शव्द र हेपाहा प्रवृत्तिले सीमा नाघेको छ ।

पार्टीभित्रका समकालीन र समकक्षी नेताहरूको उछित्तो काढ्दै आउनुभएका प्रधानमन्त्रीले शनिबार विराटनगरबाट सम्मानित अदालत र न्यायाधीशहरूप्रति चर्कैसँग खबरदारी गर्नुभएको छ । राज्य सञ्चालनका तीन वटा प्रमुख अंगमध्ये एउटाका कार्यकारीले अर्कोमाथि  आन्दोलनको ध्वाँस दिनु कदापि सरकार प्रमुखको पदीय मर्यादाभित्र नपर्ने सर्वोच्च अदालतका एक जना पूर्व न्यायाधीशले बताउनुभएको छ । उहाँका अनुसार सरकार सञ्चालन गर्नु,राज्य शक्ति हातमा लिने अनि आफूले भनेझैँ भएन भने आन्दोलनको धम्की दिनु पदीय मर्यादा विपरित काम हो ।

सञ्चारमाध्यम र सञ्चारकर्मीसँग राजकीय मान, सम्मान र मर्यादाबमोजिमको शव्दको अपेक्षा राख्नुभएका प्रधानमन्त्रीले अहिले अरूप्रति गर्नुभएको व्यवहारले के पुष्टि गर्छ ?

त्यसअघि प्रधानमन्त्रीले प्रजातन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलगत्तै पदीय मर्यादा विपरित उपराष्ट्रपति नन्दकिशोर पुनसँग गर्नुभएको सवाल जवाफले पनि उहाँको असली रूपलाई छर्लङ्ग बनाइदिएको छ । मर्यादाक्रमको दोस्रो नम्बरमा रहनुभएका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्नुभएका शव्द र देखाउनुभएको भावभंगिमाले पराजित मानसिकतालाई उदाङ्गो पारेको उच्च स्रोतको दाबी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध उपराष्ट्रपति पुनले केही दिनअघि राख्नुभएको धारणालाई लिएर प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा देखाउनुभएको व्यवहार र प्रवृत्तिलाई ‘दादागिरी’ को संज्ञा दिइएको छ । यसअघि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग राजकीय मान, सम्मान र मर्यादाबमोजिमको शव्दको अपेक्षा राख्नुभएका प्रधानमन्त्रीले अहिले अरूप्रति गर्नुभएको व्यवहारले के पुष्टि गर्छ ? नेपालीमा एउटा भनाई छ ‘आफ्नानिम्ति मान खोज्नेले अरुको सम्मान गर्न सिक्नुपर्छ ।’

टिप्पणीहरू