प्रदेश सभामा लफडाको सम्भावना, अर्को बैठक बिहेपछि

प्रदेश सभामा लफडाको सम्भावना, अर्को बैठक बिहेपछि

नेकपा विभाजनको प्रत्यक्ष असर प्रदेश १ को प्रदेश सभा बैठकमा देखिने भएको छ। आज दिउँसो २ बजे बस्न लागेको बैठकमा दुई पक्षबीच ठूलै लफडा हुने देखिएको हो ।

मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने बैठकको कार्यसूची छ । गत पुस १० गते बहुमत (३७) सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

पार्टी विभाजनले सल्काएको आगो अविश्वास प्रस्तावसम्म आइपुग्दा डढेलो झैँ फैलिसकेको छ। पार्टीमा चलिरहेको कारवाही, बर्खास्ती र निलम्बनको होडबाजी अब संसदमा प्रवेश गर्ने देखिंदैछ ।

मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चयन गरेको बहुमत (प्रचण्ड-माधव) पक्षले राईलाई दलको नेताको रुपमा प्रदेश सभामा बोल्न नदिने योजना बनाएको छ। ओली पक्षले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई निलम्बन गरेको जनाएको छ । ओली पक्ष ती १६ सांसदहरुलाई प्रदेश सभामा प्रवेश नै गर्न नदिने रणनीतिमा छ।

बहुमत पक्षले आफ्ना सांसदलाई बैठकमा प्रवेश गर्न नदिए त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरिसकेको छ।

कूल ९३ जना सांसद रहेको प्रदेश सभामा नेकपाका कूल ६७ जना सांसद छन् । जसमध्ये ४७ जना सांसद बहुमत पक्षमा रहेको बताइन्छ । ओली पक्षले पनि संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ।

अर्को बैठक मुख्यमन्त्रीको बिहेपछि

आज पहिलो बैठक बसेपछि अर्को बैठक मुख्यमन्त्री शेरधन राईको विवाहपछि आयोजना गर्ने सम्भावना छ । नेकपा प्रचण्ड–माधव समूह, ओली समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि मुख्यमन्त्रीको विवाहपछि बैठक बोलाउनु पर्ने पक्षमा छन् ।

यद्यपि बैठक बोलाउने अधिकार भने प्रदेश सभामुखलाई हुनेछ । सभामुखले बुधबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

टिप्पणीहरू