प्रतिगमनविरुद्द खेलकुद

प्रतिगमनविरुद्द खेलकुद

प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी आन्दोलन गरिरहेको नेकपा (बहुमत) को जनवर्गीय संगठन अखिल नेपाल खेलकुद महासंघ पनि आन्दोलनमा ओर्लिएको छ । महासंघले प्रतिगमनविरुद्ध लक्ष्यित गरी देशभर खेलकुद भेला,खेल कार्यक्रमहरू, खेल प्रदर्शनहरू गर्ने जनाएको छ ।

महासंघले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकलाई राजनीतिक र संवैधानिक सङ्कटमा पुर्याएको ठहर गर्दै त्यसकाविरुद्ध सशक्त ढङ्गले संघर्ष गर्ने बताएको छ ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार जारी विज्ञप्तिमा आन्दोलनलाई व्यवस्थित बनाउन महासंघका संयोजक पुरूषोत्तम पौडेलको नेतृत्वमा ५५१ सदस्यीय संघर्ष समिति समेत गठन गरेको उल्लेख छ ।

महासंघले आज (माघ ७ गते) नेकपाले आयोजना गरेको मोटरसाइकल र्यालीमा महासंघका तर्फबाट ५०० मोटरसाईकलसहित सहभागी हुने निर्णय गरेको छ ।त्यस्तै माघ ९ गतेको जन-प्रदर्शनमा प्रभावकारी सहभागिता जनाउने अर्को निर्णय छ ।

२०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा

अखिल नेपाल खेलकुद महासंघले २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यता र महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलको संयोजकत्वमा सहसंयोजक शिव कोइराला ‘ज्वाला’ रहने गरी २०५ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

घोषित केन्द्रीय कमिटी बैठकले खेलकुदको विकासमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउँदै विद्यमान खेलकुद नीतिलाई समयसापेक्ष परिमार्जन गर्ने,स्तरीय खेल-पूर्वाधारको विकासमा लगानी बढाउने, खेलाडी उत्पादन, प्रशिक्षण, तालिम गरी व्यापक रूपमा प्रतियोगिताहरू सञ्चालन गर्न स्थानीयदेखि केन्द्रीय तहसम्म खेलकुदलाई चलायमान बनाउन बजेटमा बढोत्तरी आवश्यक रहेको निष्कर्ष निकालेको छ । यसका लागि खेलकुदमा कम्तिमा एक प्रतिशत बजेट पुर्याउन महासंघले सरकारसंग माग पनि गरेको छ ।

टिप्पणीहरू