बेञ्चको सोधाई र जनताको बिश्वास

बेञ्चको सोधाई र जनताको बिश्वास

प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामाथि हिजो सोमबार भएको बहसमा पनि न्यायाधीश र कानुन व्यवसायीहरूबीच राम्रैसँग सवाल जवाफ भयो । आइतबार र सोमबार न्यायाधीशहरूले तारन्तार सोध्नुभएका सबै जिज्ञासालाई एक एक गरी हिजो बहस गर्नुभएका कानुन व्यवसायी दिनमणी पोख्रेल र सरोज घिमिरेले जवाफ दिनुभएको थियो । त्यस अवसरमा संविधानका सैद्धान्तिक मूल्य मान्यता,अवधारणा, अन्तर्राष्ट्रिय नजिर र मान्यता, हाम्रा अनुभव एवम् संवैधानिक प्रावधानका आधारमा सबै प्रश्न निरुपण गरिएको थियो ।

अब भने इजलासबाट नयाँ जिज्ञासा केही आउँछन् वा त्यहि प्रश्न दोहोर्याएर सोधिन्छ त्यो मात्र हेर्न बाँकी रहेको नेपाल बारका एकजना पदाधिकारीले जनआस्थालाई बताए । गत शुक्रबार संसद विघटनविरुद्धको मुद्दा कुन इजलासबाट निरूपण गर्ने भन्ने विषयमा भएको बहसमा विघटनको लागि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई लेखेको पत्र,क्याबिनेटको निर्णय र राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा देखिएको फरक व्यहोराबारे जोडदार ढंगले कुरा उठाइएको थियो ।

आगामी दिनमा पनि उक्त विषयलाई सशक्त ढंगले उठाउन निवेदक पक्षका कानुन व्यवसायीहरूले गम्भीरताका साथ गृहकार्य गरिरहेको बुझिएको छ । निवेदकपक्षका कानुन व्यवसायीलाई सोधेका प्रश्नकै आधारमा आत्तिनुनपर्ने पनि उनीहरू बताउँछन् । किनभने सरकारपक्षीय कानुन व्यवसायी र महान्यायाधिवक्तालाई बेञ्चले सोध्ने जिज्ञासा र उनीहरूले दिने जवाफ हेर्न र सुन्न अझै बाँकी छ ।

दुई दिनको बहस पूरै सुनेका कानुन व्यवसायीहरू भन्छन् ‘अदालतको मूड आन्दोलन र सरकारको पेलाइ कता जान्छ भन्नेमै केन्द्रित देखिन्छ । इजलासबाट सोधिएका प्रश्नहरूले त्यहि संकेत गरेको छ । वाह्य माहौलको पल्ला जता बढी हुन्छ,फैसला पनि त्यतै नढल्केला भन्न सकिन्न ।”

टिप्पणीहरू